
नेपाली फिल्म काठमाण्डूका निर्देशक तथा नायक आकाश अधिकारीले नेपाली फिल्मले अब विदेशमा पनि बजार पाउने बताएका छन् । दर्शकको परिवर्तित चाहना र अत्याधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको फिल्मले अब विदेशी बजार पाउन ठूलो दुःख नहुने उनले बताए ।
आफ्नो फिल्म काठमाण्डू प्रदर्शनको क्रममा हेटौंडा आएका नायक अधिकारीले शनिबार पत्रकारसंग कुरा गर्दै फिल्मको माध्यमबाट नेपाली संस्कृतिको प्रचारप्रसार गर्न आफूले फिल्ममा बलिउडलाई प्रयोग गरेको बताए । वैदेशिक रोजगारीमा गएकाहरुको पीडा र पारिवारिक तनावको विषय सशक्त ढंगबाट प्रस्तुत गरिएको फिल्म काठमाण्डूलाई अमेरिका, इजरायल लगायत देशका दर्शकले मन पराएकोमा खुशी व्यक्त गरे ।
मकवानपुरे दर्शकहरुको साथमा रहेर साढे २ घण्टा फिल्म हेरेर बाहिर निस्केका नायक अधिकारीलाई दर्शकहरुले घेरेर फिल्मको प्रशंसा गरेका थिए । दर्शकहरुको प्रतिक्रिया लिंदै नायक अधिकारीले समय सुहाउँदो नेपाली परिवेश नेपाली संस्कृति र आधुनिक काठमाण्डौं जस्तो शहर भित्रको पीडालाई फिल्ममा छर्लङ्ग पारिएको बताए । 'दर्शकहरुको प्रतिक्रियाले अत्यन्त हौसला मिलेको छ', नायक अधिकारीले आगामी दिनमा यो भन्दा राम्रो फिल्म दर्शकमाझ ल्याउन प्रयत्नरत रहने बताए । करिब एक करोडको लगानी रहेको फिल्म काठमाण्डू ढिला रुपमा उपत्यका बाहिर प्रदर्शनमा ल्याए पनि लगानी उठाइ सकिएको उनले बताए । हलिउड नायिका रिया मर्फीले आफ्ना फिल्ममा अभिनय गरेका कारण हलिउड र कलिउड बीच पुलको स्थापना भएको उनको प्रतिक्रिया थियो ।
अँग्रेजी, भोजपुरी र नेपाली भाषामा निर्माण गरिएको फिल्म काठमाण्डू ६ वटा देशमा सफल प्रदर्शन गरिसकेको उनले दाबी गरे । अमेरिकामा १५ दिन सुटिङ गरेको अत्याधुनिक रेड फोर क्यामराको प्रयोग र अनुसन्धानमा बढी खर्च भएका कारण फिल्म महंगो बनेको उनले बताए । चलचित्र निर्माता संघका उपाध्यक्ष समेत रहेका अधिकारीले फिल्मको प्रवर्द्धनमा स्थानीय सञ्चार माध्यमहरुलाई दिइँदै आएको विज्ञापन कटौती गरेको स्वीकार गर्दै उनले स्थानीय प्रवर्द्धनको लागि सम्बन्धित हल सञ्चालकको जिम्मा रहेको बताए । 'केन्द्रमा निर्माताले प्रवर्द्धनमा खर्च गरेका हुन्छन्', उपाध्यक्ष अधिकारीले फिल्मको ५० प्रतिशत आम्दानी हल सञ्चालकले पाउने हुँदा स्थानीय प्रवर्द्धन उनीहरुले नै गर्नुपर्ने बताए ।
दुई वर्ष अघि निर्माण भएको फिल्म आफैंमा राम्रो हुँदा पनि प्रदर्शनको चाँजोपाँजो नमिल्दा चेपुवामा परेको ओम्याक्स हल सञ्चालक नरेन्द्र महर्जनले टिप्पणी गरे । विशुद्ध नेपाली पनका युवायुवतीको जीवनलाई आधार बनाइ सबै उमेर समूहका दर्शकलाई समेटिएको काठमाण्डु आफैंमा सफल भए पनि रिलिजताका लुट र आई एम सरीको चेपुवामा पर्दा काठमाण्डूको मर्म पूर्ण रुपमा दर्शकमाझ छाउन नसके पनि हेटौंडामा चाहिँ छाप राख्न सफल रहेको उनले बताए । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष रामशरण दुलालको सभाध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष भानुभक्त आचार्य, सहसचिव सविन न्यौपाने लगायतको सहभागिता थियो ।