
बिभिन्न तनावका विच सुटिङ सक्न लागेको फिल्म मञ्जरीको युनिटलाई अन्तिम समयमा आएर अझ ठूलो तनाव आईपरेको छ । कहिले कलाकारको दुर्घटना त कहिले चर्को घामले गर्दा कलाकार बिरामी भएका कारण समस्यामा रहेको सो फिल्म युनिटको माईक्रो बसले आज दुई महिलालाई ठक्कर दिएपछि अर्को तनाव झेल्नु परेको हो ।
मुग्लिङ बजारमा फिल्मको केहि प्याचअप सिन सुटिङका लागि गएको बा १ ज ९८८४ नम्बरको टेक्निसियन र क्यामेरा बोकेको मञ्जरीको माईक्रो बसले धादिङको नौबिसे स्थित सहेले भन्ने स्थानमा साँझ ६ बजे सासु बुहारीलाई ठक्कर दिएको हो । फिल्मका प्रोडक्सन अकाउन्टेन्ट यादव पाण्डेले दिएको जानकारी अनुसार ६५ बर्षिया उजेली चापागाईं (सासु) र ४२ बर्षिया रूकु चापागाईं (बुहारी) लाई अहिले उपचारका लागि ललितपुरको बि एण्ड बि अस्पतालमा भर्ना गरिएको छ ।
सासुको स्वास्थ्य अवस्था सामान्य रहे पनि बुहारीको अवस्था भने चिन्ताजनक रहेको पाण्डेले बताए । पाण्डेका अनुसार बुहारी रूकुको कम्मर मुनीको भागमा गहिरो चोट लागेको छ । उनी अहिले अचेत अवस्थामा रहेको पाण्डेले बताए । फिल्मको युनिट अहिले मुग्लिङ बजारमा नै छ भने अकाउण्टेन्ट पाण्डे बिरामीको रेखदेखका लागि अस्पतालमा छन् । पानी पारेर बाटो चिप्लो भएकाले स्पिडमा रहेको गाडीलाई नियन्त्रणमा लिन नसक्दा चिप्लिएर ति महिलालाई माईक्रोले ठक्कर दिएको फिल्मको निर्माण युनिटले बताएको छ ।
गणेश देव पाण्डेले निर्देशन गरिरहेको सो फिल्मको दुई दिनमा सुटिङ सकिनेछ । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको सो फिल्ममा गौरब पहाडी, सुजाता कोईराला र टिका पहाडी मुख्य भुमिकामा छन् ।