
उसै त झरी परिरहने पोखरा त्यसैमाथि साउनको महिना । एकनाशले साउने झरी बर्षिरहेको बेला एउटा क्याफेमा कफिको चुस्की लगाउँदै गरेका थिए नवनायक निर्मल सेन्चुरी । बाल्यकालमा स्कुलबाट भागी भागी बाग्लुङको पुजा हलमा फिल्म हेर्न कुद्ने यी बाग्लुङे युवा यतिबेला फिल्मको नायक बनिसकेका छन् । केहि वर्षको निरन्तर संघर्ष पछि यी युवाले आफ्नो नामको अगाडी नायक संगै निर्माताको ट्याग पनि भिराईसकेका छन् ।
कफिको चुस्की लगाउँदै गर्दा नेपाली फिल्म उद्योगको बारेमा यी युवा केहि गफिदै थिए । 'हिरो बन्ने रहर पालेर मात्रै नहुने रैछ', कुराकानीलाई अगाडी बढाउँदै सेन्चुरीले भने- 'फिल्ममा हिरो बन्नका लागी धेरै संघर्ष गर्नुपर्दो रै'छ भन्ने कुरा उद्योगमा छिरिसकेपछि मात्रै थाहा भयो ।' नेपाली फिल्म उद्योगमा धेरैजसो मानिसहरुको खुट्टा तान्ने प्रवृत्ति रहेको प्रति उनले शुरुवातमै गुनासो पोखे । 'कसैले केहि गर्न खोज्यो भने त्यसलाई फसाउनका लागी दुनियाँ पछि पर्छन्', निर्मलले भने- 'जुन कुरा म आफैले भोगें ।'
हिरो बन्ने रहर सहित काठमाण्डौ छिरेका यी युवाको लागी पहिलो फिल्म नै 'पहिलो गाँस मै ढुंगा' भने जस्तै भयो । 'आई लभ यु टु' भन्ने फिल्म आफ्नै लगानीमा बनाउन तम्सिएका निर्मलले तत्कालिन समयमा कमलकृष्णलाई निर्देशकको लिने निधो गरेका थिए । तर पछि आएर निर्देशक र कलाकारको कुरा नमिलेपछि उनी हनुमान ढोकासम्म पनि तानिनु पर्यो । त्यसपछि दीपक श्रेष्ठलाई लिएर त्यहि फिल्म उनले तयार पारे । जुन अहिले प्रदर्शनको क्रममा रहेको छ ।
पहिलो फिल्म मै उनी शिर्षक विवादमा फँसे । 'आई लभ यु टु' नाम राखिएको फिल्मको शिर्षक फेरेर 'पुरानो हुँदैन माया' राख्नु पर्यो । यद्यपी पछिल्लो समय आएर पुनः फिल्मको नाम 'आई लभ यु टु' नै राखिएको छ । यो बिचमा उनले अभिनय गरेको फिल्म 'नाईट क्विन' प्रर्दशनमा आईसकेको छ । चर्चाको हिसाबले त्यति प्राथमिकता नपाए पनि 'नाईट क्विन' ले राम्रो व्यापार गरेको उनी बताउँछन् । उनले अभिनय गरेको अर्को फिल्म 'बर्षात' भदौ १५ बाट देशव्यापी चल्दैछ । 'वर्षात मेरो करिअरको लागी टर्निङ प्वाईन्ट हुनेछ', उनले दावी गर्दै भने- 'मैले निकै आशा गरेको फिल्म हो यो ।' वर्षात सानु शाक्यले निर्देशन गरेको फिल्म हो । वर्षातमा नायिका रेखा थापा र नायक सविन श्रेष्ठ संगै निर्मल मुख्य भुमिकामा देखिएका छन् ।
अभिनय संगै निर्माणमा समेत हात हालेका यी युवाले फिल्मी व्यवसायलाई निरन्तरता दिने प्रतिबद्धता गरे । 'फिल्म मेरो प्यासन हो', उनले भने- 'अभिनय संगै फिल्म निर्माण गरेर उद्योगलाई माथि उठाउने काममा मेरो निरन्तरता हुनेछ ।' गर्लफ्रेण्ड बनाउन त्यति मन नपाराउने निर्मललाई मन पराउनेहरु भने धेरै छन् । यद्यपी करिअरलाई प्राथमिकता दिएर हिँडेकोले गर्लफ्रेण्ड बनाएर डेट जाने समय नभएको उनले बताए । उद्योगमा जम्ने सुरमा रहेका निर्मलले अबको केहि दिनमै 'म नेपाली' नामक नयाँ फिल्म गर्दैछन् । त्यो फिल्मको छायाँकन सकिए लगत्तै नेत्र गुरुङले निर्देशन गर्ने फिल्म 'डामाडोल' का लागी उनी अनुबन्धित भैसकेका छन् । जुन फिल्म असोजको पहिलो हप्तादेखि फ्लोरमा जाने जानकारी आएको छ ।