मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

बिजनेस प्रिभ्यूः दोसाँधमा मायाज बार

प्रकटकुमार शिशिर, काठमाडौँ, 2012/07/26

फिल्म निर्माण भएपछि निर्माता निर्देशकको एउटै दावी हुन्छ फिल्म फरक छ दर्शकले मन पराउँछन् । बजार हिस्सा बढ्ने क्रममा रहेको यो क्षेत्रमा अझै पनि माग भन्दा बढी फिल्महरु बजारमा भिडिरहेका छन् । यस्तो बजार संरचनामा फिल्मले व्यापार गर्नु भनेको मुस्किलको कुरा हो तर पनि नयाँ नयाँ फिल्म विग बजेटमा बन्दै दर्शक तान्ने सुरमा छन् ।

 
बजार शास्त्रको सामान्य नियममा पनि रहने हो भने डिमाण्ड भन्दा बढी सप्लाई भयो भने त्यो बजार संरचनामा बस्तु तथा सेवा दुवै घाटामा जान्छन् तर नेपाली फिल्मको सप्ताहन्त साइत शुक्रवारलाई क्यालेण्डरमा रेडमार्क गरेर बसेका निर्देशक डिनेश डिसीको ड्रिम प्रोजेक्ट मायाज बार यो शुक्रवारदेखी काठमाडौँ  उपत्यका टेरिटोरीमा लाग्दैछ त्यो पनि सोलो यसको मतलब माग अनुसारकै यो हप्ता फिल्म छ त्यो पनि विना प्रतिस्पर्धामा ।  सायद पछि त्यस्तै मनोभाव बोकेका दर्शकहरु त्यसपछिका रिलिज फिल्ममा सन्तुष्ट नभएका अवस्थामा मायाज बारको ककटेल (मिश्रित) फर्मुलाले केही डोज दिन्छ भन्ने प्रक्षेपण पनि गरिएको छ । 
 
निर्माणको घोषणासँगै चर्चामा रहेको यो फिल्म रिलिज पूर्वको समाचार कभरेज र सोसल साइटहरुमा गरिएको भर्चुअल पब्लिसिटीले नयाँ स्वाद खोजेका दर्शक पनि यसको लक्षित वर्ग बन्न पुगेका छन् । यस बाहेक परम्परागत दर्शकका लागि यो फिल्म आफैमा सुत्र हो । नेपाली फिल्ममा सहरी दर्शक विस्तारै बढिरहेका छन् । खासमा मल्टिप्लेक्स दर्शकहरुको फिल्म मनोभावमा विस्तारै परिवर्तन पनि आएको छ । मल्टिप्लेक्स दर्शक तान्नका लागि मायाज बार सफल पनि हुने देखिन्छ । फिल्मको विषय उठानका हिसाबले पब्लिसिटी र रिलिज पूर्वको समाचार कभरेज, मेकिङ अफ मायाज बार स्टोरी र कलाकारको स्टारभ्यालू तथा फस्ट टाइम महानायक राजेश हमालको अपोजिट रोल (भिलेन) को भूमिका कारण पनि यो फिल्म दर्शक तान्नमा सफल हुनेछ तर राजेश हमालको भूमिकाका विषयमा भने माउथ पब्लिसिटीमा भर पर्नुपर्ने हुन्छ कारण उनलाई पब्लिसिटीमा त्यति ल्याइएको छैन  । 
 
११ लाख पब्लिसिटी खर्च सहित १ करोड ३५ लाखमा निर्माण गरिएको भनिएको यो फिल्मको बजेट औषत नेपाली फिल्म निर्माणको लागत भन्दा करिब ३ गुणा बढि हो । त्यसैले मायाज बारले लगानी उठाउनका लागि पनि तिन गुणा मिहिनेत गर्नुपर्ने हुन्छ । दावी अनुसार आधा दशक यता विग बजेटमा निर्माण भएको फिल्म पनि मायाज बार नै हो । यति ठूलो बजेट हुनुको कारण निर्माता सुनिल मानन्धर भन्छन्, 'फिल्मका लागि कुनै पनि कुरामा सम्झौता गरिएको छैन । हरेक गीतका लागि सेट तयार बनाइएको छ ।' खास सुटिङ लम्बेर पनि खर्च बढेको उनी बताउँछन् । यो चलचित्रलाई ब्राण्डको रुपमा लैजान पनि खुलेर नै खर्च गरिएको उनको भनाई छ । 
 
फिल्म उपत्यका टेरिटोरीको मेजर स्टेशन सहित २० पर्दामा लाग्दैछ । एक्लो रेसमा रहेको र सम्भवत धेरै नै स्टेशन पाएको यो फिल्मले केही हप्तादेखी फिल्मबाट सन्तुष्ट नभएका दर्शकहरुको सुरुमा साथ पाउने भने पक्का छ । १८ गते विहिवार देखी मोसफल टेरिटोरीमा ५० पर्दामा लाग्ने यो फिल्म मोसफलको ठूलो हिस्सा साथ पाएका कारण पनि थप विजनेस गर्ने छ । १२ गतेदेखी उपत्यका र १८ गतेदेखी मोसफलमा लाग्ने यो फिल्मले रिलिजको ९ दिनमा ४ दिन विदा पनि पाएको छ । १३ गते र २० गते शनिबार छ भने १८ गते रक्षाबन्धन तथा १९ गते गाइजात्रा यो विदाका कारण पनि फिल्मको विजनेस ग्राफ उकालो लाग्ने पक्का छ । अर्को हप्ता पनि जंगल लभ बाहेक अर्को फिल्मको अहिलेसम्म रिलिज डेट पक्का भएको छैन । त्यसैले मायाज बारको बिजनेस पनि कुरेका छन् धेरै निर्माता निर्देशकहरुले । 
 
यो फिल्मलाई मोसफलमा संसार आफ्नैले विजनेशमा असर भने पुर्याउँछ । १८ गते संसार आफ्नै लाग्ने पक्का जस्तै छ । अर्का हप्ता पनि अरु फिल्म लागेन भने ओरल पब्लिसिटीमा भरपर्ने दर्शकहरु तानिने सम्भावना हुन्छ । नेपालको प्रदर्शनले मात्र फिल्मको लगानी रिकभरमा हम्मे हम्मे पर्छ त्यसैले निर्माताको दाउ डायस्पोरा रिलिजमा छ । डायस्पोराबाट कम्तीमा ५० लाख उठाउनु पर्ने हुन्छ । फिल्मले अहिले नै अमेरिकामा १५ लाख, अष्ट्रेलियामा ७ लाख, यूकेमा ५ लाख, कतारमा ३ लाखको सम्झौता पाइसकेको छ । त्यस्तै मलेशिया, दुबई, इजराल, ब्रुनाईको प्रस्ताव स्विकार्ने हो भने डायस्पोराको लक्ष्य पनि पुरा हुन्छ त्यस बाहेक अन्य देशमा पनि यसको माग आउँछ र अरु विजनेस पनि बढ्छ । फिल्मको डिभिडी राइटका लागि १२ लाखको अन्तिम सम्झौता हुन बाँकी छ । यसले पनि फिल्मलाई राहत प्रदान गर्दछ । 
 
 
वितरकबाट निर्माता बनेका सुनिल मानन्धरको आफ्नै फिल्म भएको कारण ३५ प्रतिशतमा उनलाई चित्त बुझाउनु पर्देन किनकी वितरकको १५ प्रतिशत उनकै हो यसको मतलब ५० प्रतिशतमा सुरक्षित रहेका उनी आफ्नै समन्वयका कारण देशहरुको हलबाट थप फाइदामा हुनेछन् । फिल्म चलाउन निर्देशक डिनेश डिसीको पर्सनालिटीले पनि फाइदा पुग्छ । पाँच बर्ष पछिको कमव्याक भएका उनी यो फिल्मबाट बढि आशावादी छन् । फिल्ममा रियालिटी शोबाट उदाएका नायक गजित विष्टको डेब्यू छ । खोजी प्रतिभाबाट आएका यी तन्नेरीको अभिनयको कौशल टेलिभिजन दर्शकले मन पराइसकेका छन् । त्यसैले टेलिभिजन दर्शक पनि फिल्मको दर्शक पनि स्वत बन्नेछन् । यस बाहेक खोजी प्रतिभाको प्लेटफर्म पनि मायाज बारको पब्लिसिटीका लागि प्रयोग गरिएको थियो । यसले पनि प्रभाव बढाउने छ ।
 
 
फिल्ममा निशा अधिकारी, करिस्मा मानन्धर, राजेश हमाल, नगेन्द्र रिजाल, विश्वका कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठको अभिनय छ । फिल्ममा करिस्मा मानन्धर सिनियर डान्सर हुन्छिन् भने उनले नै निशा अधिकारीलाई बारमा ल्याउने काम गर्छिन् । गजित विष्ट व्यावसायिक बक्सर हुन्छन् । निशा र गजितले एक अर्काको पेशा मन नपराउने विचको कथा यसका बुनिएको छ । फिल्ममा राजेश हमाल क्लब र बार चलाउने डन हुन्छन् । फिल्मले सबै वर्गको दर्शकलाई तान्न सक्ने अपेक्षा छ । तर विजनेसको कुरामा मायाज बारलाई गार्हो हुन्छ । फिल्म ब्लकबष्टर भए पनि लगानी रिकभरमा गार्हो छ । १ करोड ३५ लाख बजेटको यो फिल्मले ३ करोडभन्दा बढि व्यापार गर्नुपर्ने हुन्छ । पछिल्लो पटक चलेका चलचित्र लुट, चपली हाइट र सायद पनि ३ करोडको व्यापार भने नाघेका छैनन् ।