
हिरोईन र क्यामेरा नै नलिई सुटिङका लागि नेपालको मध्यपश्चिम पुगेको फिल्म '`ढुवानी` युनिट अहिले लोकेशन हन्टिङमा व्यस्त छ ।
सुटिङ गर्न भनि फिल्मका निर्देशक पिताम्बर पाण्डे सहित क्यामेराम्यान पुरूषोत्तम प्रधान, कलाकार किशोर खतिवडा र धिरेन्द्र राज थापा सहितको टोली एक साता अघि मध्यपश्चिम पुगेका थिए तर हिरोईन र क्यामेर समयमा नपुगेपछि सुटिङ हुन सकेन । अहिले हिरोईनद्धय अनुजा गायक र शृष्टि शाही मध्यपश्चिम पुगिसकेका छन् तर क्यामेरा भने अझै पुगेको छैन । जसले गर्दा युनिट लोकेशन हन्टिङ भन्दै कहिले सुर्खेत त कहिले नेपालगञ्ज, बर्दिया र भारतिय इलाका रूपैडिहा घुम्नमा व्यस्त छन् ।
मध्यपश्चिमकै कथा रहेकाले त्यहाँको स्थानिय भाषा सिक्न तथा कलासंस्कृती बुझ्न एक साता अगाडी जानु परेको निर्माता मन्जिल श्रेष्ठले फिल्मीखबरलाई बताए । उनका अनुसार आज साँझसम्ममा क्यामेरा पुग्ने र भोलीबाट सुटिङ शुरू हुनेछ । भोली शुक्रबार बिहान सुर्खेतमा सामान्य पुजा गरेर फिल्मको सुटिङ धमाधम गर्ने मञ्जिलले बताए । फिल्मको सुटिङ सुर्खेत, नेपालगञ्ज, बर्दिया सहित नेपाल-भारत सिमानामा गरिनेछ ।
फिल्म सामाजिक कथामा एक्सन प्रधान हुने निर्माता श्रेष्ठले बताए । फिल्मको प्रस्तुतकर्ता कविता श्रेष्ठ हुन् । हाईवेमा हुने विभिन्न सामान ढुवानी र त्यससंग जोडिएका पात्रको भूमिकालाई निर्देशक पाण्डेले आफैले लेखेका हुन् । ८० लाखको बजेटमा निर्माण हुने बताईएको सो फिल्ममा संगीत राजन इशान, नृत्य पूनम राई र द्धन्द देब महर्जनको रहनेछ ।
ब्याच नम्बर १६ फिल्मको निर्देशन गरेका पाण्डेको यो दोस्रो फिल्म हो भने वरदान र प्लान निर्माण गरेको कविता फिल्म्सको यो तेस्रो फिल्म हो । प्रदर्शनको क्रममा रहेको वरदानलाई रेजिना फिल्म्सको सहकार्यमा कविता फिल्मले निर्माण गरेको हो । प्लान भने रिलिज भईसकेको छ ।