
नायिका निशा अधिकारी यो बेला निकै चर्चामा छिन् । एक त उनका फिल्म लगातार रिलिजको क्रममा छन् भने अर्को उनी अहिले फिल्मको पब्लिसिटीबाट टाढा रहि हिमाल चढ्ने खबरले चर्चामा छिन् ।
निशाले अभिनय गरेको मायाज बार पर्सी शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ भने धुवाँ यो नशा भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै मिसन पैसा रिलोडेड पनि उनको अर्को फिल्म हो जुन रिलिजको संघारमा छ । यि तीन वटै फिल्ममा निशालाई भिन्न स्वरूपमा र भुमिकामा देख्न सकिन्छ । मायाज बारमा बार गर्ल बनेकी निशा मिसन पैसा रिलोडेडमा एक्सन गर्ल बनेर आउँदैछिन् । यता लागुऔषधको बिषयमा बनेको धुवाँ यो नशामा भने निशा लभर गर्लको साथमा लागुऔषध दुर्व्यसनीको भुमिकामा देखिने छिन् ।
मायाज बारको हट केक बनेकी निशा धुवाँ यो नशाबाट पनि हट केक नै बन्ने निर्देशक लक्ष्मण रिजाल बताउँछन् । लक्ष्मणका अनुसार फिल्ममा निशाका दुई चरित्र छन् र ति दुबै चरित्रले दर्शकलाई बाँध्ने छ । राम प्रसाद रिजालले निर्माण गरेको सो फिल्ममा निशालाई आर्यन सिग्देलले साथ दिएका छन् । फिल्ममा आर्यनका पनि दुई चरित्रलाई दर्शकले अवलोकन गर्न पाउनेछन् । दर्शकका लागि मात्र हैन आर्यनका लागि पनि यो फिल्म प्रतिक्षित छ । लामो समयको ग्याप पछि आर्यनलाई दर्शकले छुट्टै भुमिकामा देख्न पाउनेछन् ।
निर्माण युनिटले निशाको गेटअपलाई तस्विर मार्फत सार्वजनिक गरे पनि आर्यनको गेटअपलाई भने सस्पेन्स राखेको छ । निर्माता रिजाल भन्छन्, 'हामी आर्यनजीलाई सरप्राईजका रूपमा सार्वजनिक गर्ने योजनामा छौं ।' फिल्ममा आर्यन पनि लागुऔषध दुर्व्यसनीको भुमिकामा देखिने छन् ।