
त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टर अगाडी सुटिङ गरिरहेको मञ्जरी फिल्म युनिटलाई काठमाण्डू महानगरपालिकाको कर्मचारीले हस्तक्षेप गर्दै दुर्व्यवहार गरेका छन् । दुर्व्यवहारका कारण आज बिहानको सुटिङ प्रभावित भएको छ ।
फुटपातमा लुगा र घडी बेचिरहेको दृश्य कैद भईरहेका बेला नगरपालिकाबाट खटिएको एक प्रहरीको टोलीले फिल्मको सुटिङ भन्ने थाहा पाउदा पाउदै हस्तक्षेप गरी यूनिटमाथि दुर्व्यवहार गरेको मञ्जरी यूनिटले जनाएको छ । जुनियर आर्टिष्ट गणेश राई र अर्का एक कलाकारलाई नगरपालिका प्रहरीले आफ्नो भ्यानमा राखेर नियन्त्रणमा पनि लिएको छ । निर्देशक गणेश देव पाण्डेले सुटिङको बिषयमा ट्राफिक प्रहरीलाई खबर गरेको तर नगरपालिकालाई जानकारी नगराएका कारण लफडा भएको बताए । उनले नगरपालिकालाई खबर नगर्नु आफ्नो कमजोरी रहेको स्वीकारे पनि कलाकारमाथिको दुर्व्यवहार आपत्ति जनक रहेको बताए । उनले भने, 'गल्ती थियो भने आर्थिक सजाय भोग्न तयार थियौ तर दुर्व्यवहार चाहि गर्नु हुदैन थियो ।'
उता नगरपालिकाका डिएसपी धनपति सापकोटाले सुटिङको बिषयमा `मिसअन्डरस्टाण्डिङ` भएको भन्दै विवाद अन्त्य भएको बताए । यध्यपी नगरपालिकाको अधिन रहेको कुनै पनि क्षेत्रमा सुटिङ गर्ने बिषयमा फोनबाट मात्र जानकारी गराएको भए हस्तक्षेप नहुने उनले बताए । नेपाली फिल्मकर्मीमाझ पूर्ण परिचित सापकोटाले कागजी रुपमा भन्दा पनि मौखिक आधारमा थुप्रै फिल्मको फुटपाथ सुटिङमा सहयोग समेत गर्दै आएका छन् । तर यो पटक न फोन न लिखित दुवै अनुमति नहुँदा फिल्डमा गएको टोलीले हस्तक्षेप गरेको उनको भनाई छ । उनले भने, 'कलाकारको रुपमा प्रयोग गरिएका दुई ब्यक्ति सदा झै ब्यापार गर्ने ब्यक्ति हुन् जसलाई नगरपालिकाका प्रहरीले सधै लखेट्ने गर्थ्यो तर आज उनीहरुले फिल्म खेल्दै रहेछन् त्यसैले हस्तक्षेप भएको हो ।' पारी पट्टी लुगा बेच्ने कलाकारलाई राखेर वारीबाट दृश्य कैद भईरहेका नगरपालिका प्रहरीले हस्तक्षेप गरेको थियो ।
चलचित्र बिकास बोर्डमा फिल्म दर्ता गरेर मात्र सुटिङ गर्ने प्रबृति यहाँ धेरै छ । जसकारण बोर्ड बाहेक क्षेत्रगत प्रशासन एवं संघसंस्थाको अनुमति विना सुटिङ गर्ने प्रचलनले यस किसिमका समस्यामा फिल्मकर्मी पर्दै आएका छन् । जुन बिषयमा चलचित्र बिकास बोर्डले हरेक नयाँ निर्माता र निर्देशकलाई सामान्य वर्कसप दिलाउन सके आगामी दिनमा यस प्रकृतिका सामान्य विवाद आउने थिएन । यध्यपी नगरपालिकासंगको विवादको खबर कानमा पुगेपछि निर्माता संघका महासचिव केशव भट्टराईले विवाद अन्त्य गर्न प्रमुख भूमिका खेलेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित उक्त फिल्मको सुटिङ सकिन पाँच दिन लाग्ने बताईएको छ ।