
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'हाइवे' ले समिक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाउन सकेन । अझ भनौं फिल्म हेरेका अधिकांश दर्शकको मन जित्न सकेन । तर पनि व्यवसायिक रूपमा शुक्रबार र शनिबार फिल्म अब्बल रह्यो ।
फिल्मका वितरक नरेन्द्र महर्जनका अनुसार फिल्मले ओपनिङ कलेक्सन लुटको भन्दा राम्रो गर्यो । के कति गर्यो त्यो भने उनले अहिले खुलाएनन् तर पनि उनी बिजनेशबाट खुसी छन् । दर्शकको चाप बढेकाले हलले शोमा पनि वृद्धि गरेको महर्जनले बताए । 'बिशेषगरी फिल्म मल्टिप्लेक्स र शहरी क्षेत्रमा राम्रो चलेको छ', नरेन्द्रले भने, 'पब्लिसिटीले चलेको होला भन्ने लागेको थियो तर आज मर्निङ शो पनि राम्रो भएकाले दर्शकले फिल्म हेर्न रूचि देखाएको पाएँ ।'
मसला फिल्म हेरिरहेका दर्शकले भने यो फिल्मलाई नरूचाएको नरेन्द्रको भनाई छ । उनी भन्छन्, 'मैले पनि पहिलो पटक हेर्दा फिल्मलाई बुझ्न सकिन तर पछि दोस्रो पटक दिमाग खर्चेरै हेरें अनि बुझें ।' दर्शकले दिमाग खर्चेर फिल्म हेरेमा मज्जाले बुझ्ने नरेन्द्र बताउँछन् । 'फरक तरिकाले फिल्म निर्माण गरिएको रहेछ त्यसैले शुरूमा मसला बिनाको खाना खाँदा स्वाद नआए जस्तै हुन्छ तर त्यसलाई नै स्वाद मानेर खाने हो भने सन्तुष्ट भईन्छ', नरेन्द्रले दाबी गर्दै भने,'यो बिना मसलाको स्वादिष्ट फिल्म हो ।'
फिल्मको ब्याड माउथ पब्लिसिटीलाई भने निर्माण युनिटले स्विकार्नै पर्छ । किनकी अहिले यो फिल्मको बारेमा सकारात्मक भन्दा बढि नकारात्मक कमेन्ट आएको छ । दर्शकहरू यसलाई बकवास फिल्म सम्म भन्न भ्याएका छन् । कतिले त यो फिल्म जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा कसरी पुग्यो भन्ने आश्चर्य व्यक्त गरेका छन् । फिल्म निर्माण युनिट भने यो फिल्म बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिंड भन्न भ्याएको छ । केहि फिल्मकर्मीहरू फिल्म चल्दैमा राम्रो भन्न नमिल्ने पनि बताउँछन् भने केहि राम्रो भएरै चल्ने बताउँछन् । अब यो फिल्म राम्रो हो या हैन त्यो छुट्ट्याउने जिम्मा दर्शकलाई पनि ।