
केहि समय पहिले शुरुवात थालिएको दुबई शहरमा नेपाली फिल्म प्रदर्शनले फेरी निरन्तरता पाउने भएको छ l सनहिल्स सिनेमा प्रोडक्सनले फिल्मको दुबईको लागि अधिकार लिई प्रदर्शनको थालनी गरेको हो ।
यसअघि 'छबिलाल कन्जुस छैन' र 'मजबूर' जस्ता फिल्मको सफल प्रदर्शन गरेको सनहिल्स प्रोडक्सनले आउदो जुलाई २७ मा रामजी लामिछानेको निर्देशनमा तयार भएको 'पहिलो माया हो मेरो' प्रदर्शन गर्न लागेको हो l लव र एक्सन श्रेणीमा तयार भएको यस फिल्म नेपालमा प्रदर्शन हुनु अगाबै अरब राष्ट्र दुबईबाट वर्ल्ड प्रिमियर हुने अवसर पाएको हो l सुमन सिंह र झरना थापा अभिनित फिल्म बर दुबई स्थित गोल्डेन सिनेमा हलमा लाग्ने छ l
प्रदर्शनको सुरवात संगै यस फिल्मलाई दुबईमा प्रदर्शन गर्न लागेका शनहिल्स सिनेमा प्रोडक्सनका निर्देशक सुर्य अधिकारी र सुमन खाँडले मुस्लिमहरुको चाड ईद नजिकिदै गर्दा पहिलो माया हो मेरो पछि रंग, शौभाग्य र सम्झिराख है जस्ता फिल्म दुबईमा लाग्ने जानकारी गराए । साथै अहिलेसम्म दुबईमा नेपाली फिल्म रिल सिस्टमबाट लाग्ने गरेता पनि अबका केहि दिनमा डिजिटल सिस्टमबाट लगाउन मिल्ने प्रबिधिको सुरुवात गरिने भएको छ l जसले गर्दा नेपाली डिजिटल फिल्मले पनि दुबईमा प्रदर्शन हुने अवसर पाउनेछ र नेपाली फिल्मको अर्न्तराष्ट्रिय बजारको अर्को ढोका खोल्ने छ ।