
आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'हाइवे' को बिहिबार राती सोल्टी होटलमा एक समारोहका विच प्रिमियर गरियो । फिल्म क्षेत्रका व्यक्ति तथा सञ्चारकर्मीको पातलो उपस्थिती रहेको सो प्रिमियरमा निर्माण युनिट र सम्बन्धित फिल्मकर्मीका आफन्तहरूको बाक्लो उपस्थिती थियो ।
प्रिमियर समारोहमा बोल्दै निर्देशक दिपक रौनियारले थोरै बजेट र सिमित साधन स्रोतमा निकै मेहनतका साथ फिल्म बनाएको बताए । जर्मनीको बर्लिन फेस्टिभलमा फिल्म पुग्नु आफ्नो सफलता रहेको बताउँदै रौनियारले व्यवसायिक सफलता प्राप्त गर्नेमा आफू ढुक्क रहेको समेत बताए । यस्तै निर्माता समीरमणि दीक्षितले फिल्म राम्रो बनेको बताउँदै निर्देशक रौनियार र फिल्मका कलाकार तथा निर्माण टोली प्रति आभार प्रकट गरे । अर्की निर्माता मिता होसालीले पनि नेपाली फिल्मकर्मीसँग काम गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
इलामबाट काठमाण्डौ हिंडेको बस र त्यसमा सवार यात्रुहरूले बन्दको चपेटामा परेर पाएका पिडा तथा मानसिक तनावलाई फिल्मले मुख्य बिषय बनाएको छ । आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा निर्मित उक्त फिल्ममा सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा चर्तित बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र मिश्रले अभिनय गरेका छन् ।