
मिडियाबाट तुरन्त फिडब्याक नपाएका प्रदीप उदयले आफ्नो फिल्मलाई मिडियाले मन नपराए अझ सफलता मिल्ने तर्क पेश गरेका छन् ।
दुब्लाउदै गएको प्रेस शो कल्चरलाई जिवित राख्न आज उनले रिलिज भएको पाँचौ दिनका दिन आफ्नो फिल्म मालतीको भट्टी सञ्चारकर्मीलाई देखाएका थिए । फिल्म हेरिसके पश्चात हल परिसरमा नदेखिएका उनले फिल्मीखबरसंगको फोन संवादमा मिडियाले मन नपराए पनि आफ्नो फिल्म अझै चल्ने विश्वास देखाए । फोन संवादमा उनले भने, 'पत्रकारले मन नपराए झनै चल्छ फिल्म किनकी यहाँ जे कुराको पनि कमेन्ट हुन्छ ।'
उदयका अनुसार हिजो चौथो दिनसम्मको ग्रस कलेक्सन ७५ लाख भएको छ भने आजको सम्पूर्ण रिपोर्टबाट करिव ९० लाखको हाराहारीमा हुने उनको दावी छ । ४७ लाखको लगानी रिकभरका लागि मालतीको भट्टीले न्यूनतम १ करोड २० लाखको ब्यापार गर्नुपर्ने हुन्छ जुन रिकभर यो साता भित्र हुने प्रदीपले दिएको आँकडाले देखाउछ । दोस्रो साता र रिलिज हुन बाँकी ३५ स्टेशनबाट उठ्ने रकम उनको नाफा रकम हुनेछ ।
दिउँसो कुमारी हलको थिएटरमा दुई घण्टा मिडियाले मालतीको भट्टीको स्वाद लिएको थियो । फ्यामेली ड्रामा शैलीको उक्त फिल्मको प्रेस शोमा प्रमुख कलाकारहरुको साथै निर्देशक गणेश देव पाण्डेको पनि उपस्थिति थिएन । फिल्मका मुख्य कलाकार रेखा थापा,जीवन लुईटेल तथा नन्दिता केसी हुन् ।