
मिडियाको अगाडी आफ्नो बुवालाई केकीले सर भनेर परिचय गराइन् तर उनको बोली बेला बेलामा लर्बराउथ्यो । 'यसर्थमा कि उहाँ मेरो घरको गुरु हुनुहुन्छ त्यसैले पनि मैले सर भनेको हुँ', मंगलबार दिउँसो पिता बद्री अधिकारीले निर्माण गरेको फिल्म 'ज्यान हाजिर छ' को प्रेसमिटमा केकीले भनिन् ।
प्रेसमिटमा उनले एमसी गर्दै बाबुलाई लर्बराउदै सर सम्बोधन गरेकी हुन् । आफूलाई अभिनय सिकाउने पहिलो व्यक्ति बुबा नै भएकाले सर भनेको उनको भनाई छ । सर भन्दा केकीलाई मात्र हैन पिता बद्रीलाई पनि असहज महसुस भएको देखिन्थ्यो । 'ज्यान हाजिर छ' फिल्मकी हिरोईन केकी होईनन् तर होम प्रोडक्सनको फिल्म भएकाले हरेक प्रोमोशनल गतिविधिमा आफू लाग्ने भन्दै कार्यक्रम छिटो छरितो ढङ्गले सञ्चालन गर्दै एउटा एमसीमा हुने गुण देखाउन पनि उनी सफल भईन् ।
आउदो शुक्रबार देखि देशभर एकसाथ प्रदर्शनमा आउने सोसल ड्रामा श्रेणीको उक्त फिल्ममा बेनिशा हमाल मुख्य भूमिकामा छिन् । 'म यो फिल्ममा ज्वली र चार्मिङ गर्लको भूमिकामा छु', बेनिशाले भनिन् । बेनिशाका अलवा सिजन मिडियाले आयोजना गरेको मिस एयर होस्टेज उपाधी जितेकी काजोल खड्काको साथमा प्रशन्न गोपाली, राज लामा, बिकास चापागाईं, सुशिल श्रेष्ठ र जुनु श्रेष्ठको मुख्य अभिनय रहेको छ । फिल्म निर्माणमा निर्देशक बद्रीलाई सुदर्शन श्रेष्ठले सघाएका हुन् । फिल्मको कथा पनि बद्री र सुदर्शन मिलेर लेखेका हुन् ।
रंग फिल्म एण्ड टिभी क्रियशनको व्यानरमा निर्मित फिल्ममा सुगम पोखरेल, सत्यस्वरूप र सूर्य दयालुको संगीत रहेको छ । यस्तै फिल्ममा रामशंकर प्रधानको छायाँकन, राजेश केसीको करियोग्राफी र सानु कुमार महर्जनको द्धन्द रहेको छ । जातिगत र क्षेत्रगत हिसावले पनि समावेशी ढङ्गको फिल्म बनाएको निर्देशक अधिकारीले कार्यक्रममा जानकारी गराए । आफू पनि फिल्मको कलाकार भएको रहस्य खोल्दै उनले भने, 'आज सम्म जानेको र भोगेका सम्पूर्ण ज्ञान र शक्ति यो फिल्म बनाउन लगाएको छु ।' उनले फिल्ममा हिन्दु सहित मुस्लिम, क्रिश्चियन लगायतका धर्मसंगको ईश्युलाई पहिलो पटक फिल्ममा प्रयोग गरेको पनि दावी गरे ।
कार्यक्रमका तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोला : http://www.filmykhabar.com/pictures/422