विकास आचार्यको निर्देशनमा आजबाट नयाँ फिल्म रिदमको सुटिङ सुरु गरिएको छ । आजै बिहान काठमाण्डौको पुरानो बानेश्वर स्थित कुमारी कम्प्लेसमा उक्त फिल्मको शुभ-मुहुर्त गर्दै सुटिङ सुरु गरिएको हो ।
फिल्मको मुहुर्त सटको निर्देशन शिब रेग्मीले गरे भने क्ल्याप ठोक्ने काम शैलेश आचार्यले गरे । यस्तै क्यामेरा स्विच अन गर्ने जिम्मा निर्माता संघका अध्यक्ष राजकुमार राईलाई दिईेको थियो । वान टाईम सिनेमा प्रालिको ब्यानरमा निर्माण शुरू गरिएको सो फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई र दुई नयाँ अनुहारले डेब्यू गर्दैछ्न् । डेब्यू गर्नेमा बालाजुमा रहेको अष्टनारायण हल सञ्चालक त्रिरत्न मानन्धरका छोरा सोहित र डान्स सम्बन्धी छमछमी कार्यक्रममा टप फाईभमा पर्न सफल भएकी निस्मा घिमिरे रहेका छन् ।
'तयारी राम्रै गरे पनि फष्ट फिल्म भएकाले अलि कस्तो कस्तो लागिराछ', दृष्टी बिहिनको भूमिकामा प्रस्तुत हुन लागेको नयाँ हिरो सोहितले भने । उनी अनुप बरालका चेला हुन् । बिराटनगरका रैथाने निर्देशक आचार्यले बिराटनगरकै जीवन लुईटेललाई आफ्नो चौथो फिल्ममा पनि दोहोर्याए । 'मेरो ब्रान्डिङ हिरो जीवन नै हो त्यसैले लगातार उसंग मेरो प्रोजेक्ट रनिङ छ र आउदा दिनमा पनि उसंगै काम हुन्छ भन्ने सोच छ', निर्देशक आचार्यले मुर्हुत समारोहमा भने ।
उता जीवन पनि विकास आचार्यको ब्रान्डिङ हिरो हुन पाएकोमा दङ्ग छन् । नाई न भन्नु लबाट उनले जति चर्चा पाए ती सवै श्रेय उनी विकास आचार्यलाई दिन चाहन्छन् । स्वेतासंग जीवनले दोस्रो पटक अनस्क्रिन रोमान्स गर्दैछन् । पहिलो प्रोजेक्ट ब्ल्याक मेलमा संगै काम गर्दा उनी भर्खरै आएकी नयाँ हिरोईन जस्तो नलागेको जीवनले बताए । उनले भने, 'पहिलो फिल्ममा नै उहाँ प्रोफेशनल आर्टिष्ट जस्तो हुनुहुन्थ्यो । विशेषत मलाई ड्रेस र अभिनयमा ध्यान दिने कलाकार राम्रो लाग्छ जुन गुण उहाँमा छ ।'
उता स्वेताले पनि फिल्मी मार्केटमा विजी रहेका जीवनसंग दोस्रो प्रोजेक्ट गर्न पाएकोमा खुशी ब्यक्त गरिन् । 'बास्तवमा उहाँ मलाई स्टार लाग्थ्यो संयोगले आज संगै काम गर्ने अवसर पनि जुट्यो', स्वेताले भनिन् । फिल्ममा नीर शाह, उत्तम केसी, अरुण रेग्मी पनि प्रमुख कलाकार रहने छन् । फिल्मको शिर्ष भुमिकामा भने बालकालाकार अनुभव रेग्मी रहेका छन् । पोलटिकल लभस्टोरी फिल्म रिदममा टाईटल अनुसार पूर्ण रुपमा संगीतको बिषयसंग सम्बन्धीत नरहेको बताईएको छ ।
३० दिनमा सुटिङ सक्ने लक्ष्य लिएका निर्देशक आचार्यको यो फिल्ममा छायाकंन शम्भु सापकोटाको रहने छ भने संगीत बसन्त सापकोटा, नृत्य कविराज गहतराज, द्धन्द रोशन श्रेष्ठ र गित कृष्णहरी बरालको रहने छ । विशेषत सांगितिक पाटोबाट नाई न भन्नु लको जस्तै हाईट यो फिल्मबाट पनि पाउने निर्देशक आचार्यको विश्वास छ ।
मुहुर्तका तस्विरहरू : http://www.filmykhabar.com/pictures/418

