
अन्तत: फिल्म फेसबुक युनिटले आफ्नो रिलिज डेट भाद्र २९ तोकेको छ । फिल्मकी प्रस्तुतकर्ता समेत रहेकी नायिका झरना थापाले आफ्नो फेसबुकको भित्तामा भाद्र २९ मा आफूले नेपालभर एकसाथ फिल्म रिलिज गर्न लागेको कुरा उल्लेख गर्दै आजबाट काउन्टडाउन शुरू भएको उल्लेख गरेकी छिन् ।
फिल्मका निर्माता सुनिल कुमार थापाले पनि आज फिल्मको रिलिज डेट फाईनल गरेको र भोलीबाट भाद्र २९ गतेको मिती राखिएको प्रोमो तथा पोस्टर सञ्चारमाध्यमा छोड्ने बताए । उनले भने, 'भाद्र १५ गतेको तयारी गरेका थियौं तर पब्लिसिटी पनि नपुग्ने अनि भाद्र २९ पनि राम्रो डेट रहेकाले सार्ने निर्णय गरेका हौं ।' फेसबुक भाद्र २९ मा सरेपछि सो मितीमा तीन वटा प्रतिक्षित फिल्म जुध्ने पक्का नै भएका छन् । फेसबुक २९ मा सर्नुको मुख्य कारण भने तीजको बिदाको मौका छोप्नु मात्र हैन कि अक्षय कुमार अभिनित फिल्म जोकरबाट बच्न खोज्नु पनि हो । जोकर भाद्र १५ मा नै लाग्नेछ ।
यसअघि नै सुशिल पोखरेलको बडीगार्ड र सरद अधिकारीको ब्ल्याक मेल भाद्र २९ मा लाग्ने पक्का भईसकेको थियो । दुई ठूला फिल्म जुध्न लागेको बेला अर्को आश गरिएको फिल्म फेसबुक पनि सोही मितीमा आउने भएपछि तीनै फिल्मका निर्मातालाई ठूलै खतरा छ । यो भिडन्तमा कुन निर्माता धुलोपिठो हुने हो भन्न सक्ने अवस्था छैन । सम्भावना तीनै निर्मातालाई असर गर्ने देखिन्छ तर पनि सबैजना आ-आफ्नो स्थानबाट मजबुत भएको बसेको बताउँछन् ।
सुरज सुब्बा निर्देशित फिल्म फेसबुकमा राजेश हमाल, झरना थापा, सुवास थापा, स्वतन्त्र प्रताप शाह, अनुराग मान सिंह कुवँर, विल्सन विक्रम राई, सुमन गैरे लगायतको मुख्य अभिनय रहेको छ । यो फिल्म सामाजिक संजाल फेसबुकले पारेको असरको बारेमा चित्रित छ । बिशेष गरी बेरोजगार युवाहरूको कथालाई यसले उठान गरेको छ । यता राजेन्द्र उप्रेतीले निर्देशन गरेको बडीगार्ड पूर्णरूपमा एक्सन प्रधान छ । यसले देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश बोकेको छ । फिल्ममा आकाश शाह र सौजन्य सुब्बा मुख्य भुमिकामा छन् ।
मधुसुदन भट्टराईले पहिलो पटक निर्देशन गरेको फिल्म 'ब्ल्याक मेल' पनि निर्माण क्रम देखि नै चर्चामा छ । जीवन लुईटेल, सुमन सिंह र स्वेता भट्टराईको त्रिकोणात्मक प्रेमकथामा बनेको ब्ल्याक मेल सस्पेन्स थ्रील फिल्म हो ।