
बिधान संसोधनका लागि आज शनिबार बसेको कलाकार संघको साधारण सभामा बोल्दै अध्यक्ष रमेश बुढाथोकीले नयाँ कलाकारहरूको सदस्यताको संकट संघमा रहेको बताए । उनले भने, 'अहिले आएका नयाँ कलाकारहरू मध्ये कमै मात्र संघको सदस्य बनेका छन् जसमा हामीलाई केहि दु:ख लागेको छ ।
संघमा अधिकांश पुराना कलाकार मात्र भएको र नयाँ सोचका कलाकारको पनि संघले आवश्यकता महसुस गरेको भन्दै बुढाथोकीले सम्पूर्ण कलाकारहरूलाई सदस्यता ग्रहण गर्न आग्रह गरे । यस्तै उनले चलेका कलाकारहरूले पनि संघ प्रति वेवास्ता गरेको बताए । उनले भने, 'संघको हकहितका लागि काम गर्न सबैको साथ र सहयोग चाहिन्छ तर चलेका र बुझेका कलाकारहरूले नै साथ नदिंदा संघ चाहेर पनि अगाडी बढ्न सकेको छैन ।'
राजेश हमाल जस्तो कलाकारको पनि सदस्यता नविकरण नभएको बताउँदै अध्यक्ष बुढाथोकीले कलाकार जति व्यस्त भए पनि बेलाबेला संघको बारेमाचासो राखिदिन आग्रह गरे । उनले दु:ख पर्दा मात्र संघलाई सम्झने गरेको गुनासो पोख्दै भने, 'सबै जनाको साथ भएमा मात्र हामी कलाकारको हकहितका लागि लड्न सक्छौं ।' अध्यक्षले संघको कार्यक्रममा कलाकारको न्यून उपस्थिती हुनुलाई एउटा रोग भएको बताए । उनले भने, 'कति व्यस्त भएर समय दिन सक्दैनन् तर कतिको त रोग नै हो संघको बारेमा चासो नराख्नु ।'
संघले आज निर शाहको प्रमुख आतिथ्यमा बिशेष साधारण सभाको आयोजना गरि बिधान संसोधनको बारेमा छलफल गरेको हो । संघको बिधानलाई संसोधन गरेर आगामी तीन महिना भित्रमा चुनाव गरि संघले नयाँ कार्यसमिती बनाउनेछ । संघमा हाल स्थायी र अस्थायी गरि करिब ६०० सदस्य छन् । तर कार्यक्रममा चलेका सदस्यिय अनुहारको उपस्थिती भने खासै देखिएन ।
कार्यक्रमका केहि तस्विरहरू : http://www.filmykhabar.com/pictures/414