
जर्मनीको ह्याम्बर्ग फिल्म फेस्टिभलमा प्रिमियर गर्ने भनिएको फिल्म 'सुनगाभा' लाई अब क्यानडामा हुने अर्न्तराष्ट्रिय मोन्ट्रियल फिल्म फेस्टिभलमा प्रिमियर गरिने भएको छ ।
२३ अक्टुबर देखि ३ सेप्टेम्बरसम्म चल्ने उक्त फेस्टिभलमा नेपाली फिल्म 'सुनगाभा' अफिसियल छनोटमा परेको निर्देशक सुवर्ण थापाले फिल्मीखबरलाई जानकारी गराए । मोन्ट्रियल फिल्म फेस्टिभलमा प्रिमियर भए लगत्तै २७ सेप्टेम्बर देखि ६ अक्टुबरसम्म जर्मनीमा चल्ने ह्याम्बर्ग फिल्म फेस्टिभलमा सुनगाभालाई देखाईनेछ । ह्याम्बर्ग फिल्म फेस्टिभलमा पनि उक्त फिल्म अफिसियल छनोटमा नै परेको निर्देशक थापाले बताए ।
गत मे २० तारिखका दिन कान्स फिल्म फेस्टिभलको फिल्मी बजारमा प्रदर्शन गरिएको सो फिल्मलाई दशैंको छेकोमा नेपालमा रिलिज गर्ने तयारी गरिएको छ । समलिंगी दुई युवतीको मनोवैज्ञानिक कथामा बनेको फिल्ममा निशा अधिकारी, दिया मास्के, सौगात मल्ल, बसुन्धरा भुषाल, सरिता गिरी, मेनुका प्रधान लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन् भने निर्माताको रूपमा निर्देशक थापाको साथमा रप्सोडी प्रोडक्सन रहेको छ ।