
सरिता गिरी भन्ने नाम फिल्म क्षेत्रमा नयाँ भए पनि नाटकको क्षेत्रमा भने निकै पुरानो नाम हो । बिगत १२ बर्ष देखि नाटक बिधामा काम गर्दै आएकी सरिता अहिले नेपाली फिल्ममा पनि देखिन थालेकी छिन् । फिल्म मात्र हैन अब त उनलाई म्युजिक भिडियोमा समेत देख्न सकिनेछ ।
सयौं नाटकको अनुभव र थुप्रै बिदेश भ्रमणको अनुभव बटुली सकेकी सरिताले गुरूदक्षिणा फिल्मबाट आफ्नो फिल्मी यात्रा शुरू गरेकी हुन् । नाटकको क्षेत्रमा 'एक्टिङ क्विन' समेत भनेर चिनिने सरिताले हालसम्म गुरूदक्षिणा, सिग्नेचर, कस्मिरी गलबन्दी, आचार्य, सुनगाभा गरि पाँच फिल्ममा काम गरिसकेकी छिन् भने नागरिक फिल्मको सुटिङमा उनी यो समय व्यस्त छिन् । गुरूदक्षिणा र आचार्य रिलिज भईसकेका फिल्म हुन् भने बाँकी रिलिजको क्रममा छन् ।
१६ बर्षको उमेर देखि कला क्षेत्रमा निरन्तर लागेकी सरिताले फिल्मसँगै म्युजिक भिडियोलाई पनि स्थान दिने बताईन् । यहि क्रममा उनले मंगलबार नीलम आङ्बुहाङ राईको शब्द, बिबि अनुरागीको संगीतमा भुमिराज राईको स्वरमा रहेको मन भरी बोलको गीतमा उनले अभिनय गरिन् । 'नाटक र फिल्म भन्दा भिडियोको अनुभव निकै रमाईलो हुने रहेछ', सरिताले सुनाईन् । अजम्बरी क्रियशनको प्रस्तुतीमा भगत राईले निर्देशन गरेको सो भिडियोमा सरितालाई सुमन गैरेले साथ दिए । सुमनले भने, 'थिएटरको कलाकारसँग काम गर्दा धेरै कुरा सिकिने रहेछ ।'
सरिताले भिडियोमा नयाँ अनुभव भएको र नयाँ टिमसँग काम गर्दा निकै रमाईलो भएको बताउँदै आगामी दिनमा फिल्म र भिडियोलाई नाटक जत्तिकै प्राथमिकता दिने बताईन् ।
भिडियो सुटिङका तस्विरहरू : http://www.filmykhabar.com/pictures/mana-bhari/