
एभिन्यूज टेलिभिजनमा न्यूज रिडरको जागिरे भएको केही महिना पश्चात जीवन लुईंटेल एक्कासी फिल्मको हिरोको रुपमा देखा परे । सुरुमा भिडियो फिल्म तिर्खाबाट रजतपट टेकेका उनले विकास आचार्यको डेब्यू फिल्म नसिव आफ्नोबाट सोलो हिरोको ट्याग भिरे । त्यस पश्चात उनले आधा दर्जन फिल्म खेले जस मध्ये सर्वाधिक चर्चामा रहेको उनको फिल्म बन्यो 'नाई नभन्नु ल' ।
श्रीमतीलाई अष्ट्रेलियामा राखेका उनले नाई नभन्नु ल को प्रिमियर अष्ट्रेलियामा गरेपछि उनको मुड पनि उतै बस्ने बनेको थियो तर प्रोड्यूसर प्रदीप उदयसंग उनको एक अनलाईन च्याटले उनी पलायन हुनबाट जोगिएको रहस्य स्वयम उनले सार्वजनिक गरेका छन् । चर्चा धेरै तर काम अनुसारको प्रतिफल नपाएकाले हुन सक्छ जीवनले पनि केही कलाकारले रोजेको जस्तै विदेश पलायनको बाटोलाई झन्डै रोजेको तर प्रदीप उदयको फिल्म मालतीको भट्टीको स्क्रिप्ट जव उनले पढे तव उनलाई लाग्यो नेपाल फर्किनुछ । न भन्दै उनी मालतीको भट्टी खेल्न नेपाल फर्किए तव देखि उनको ब्यस्ततामा कुनै कमि आएको छैन ।
असार २९ देखि देशभरीका पचास बढी फिल्म हलमा लाग्ने ४७ लाखको बजेटको उक्त फिल्मको सम्पूर्ण रिलिज तयारी पूरा भएको सम्बन्धमा मंगलबार आयोजित प्रेस मिटमा जीवनले आफू पलायन हुन लागेको रहस्य खोलेका हुन् । प्रेस मिटमा बोल्दै जीवनले भने, 'सायद मालतीको भट्टी नखेलेको भए म आज अष्ट्रेलियामै हुन्थे होला ।' उनलाई नवनिर्देशक गणेश देव पाण्डेले आफ्नो कथामा जीवननै चाहिने बताएपछि प्रोड्यूसर उदयले जीवनलाई अष्ट्रेलियाबाट नेपाल बोलाएका थिए ।
मालतीको भट्टी रिलिज पछि प्रोड्यूसरका लागि कति लक्की हुन्छ त्यो आगामी हप्ताको रिजल्टले बताउने छ तर जीवनका लागि भने उक्त फिल्म निकै लक्की सावित भयो । अष्ट्रेलियाबाट फर्किए लगत्तै उनले डेढ बर्षको पिरियडमा हाई बजेटका झण्डै १० वटा फिल्म खेले त्यस मध्ये रिलिज भएको मध्येबाट सार्वधिक चर्चित फिल्म बन्यो अन्दाज उनका लागि । यहि क्रममा ह्यान्डसम हंक उनी वर्तमान फिल्मी बजारमा आर्यन पछि सर्वाधिक महंगा हिरोको रुपमा पनि गनिएका छन् ।
'स्क्रिप्टको डिमान्ड अनुसार जीवनजीलाई हामीले लिएका हौं र उहाँले राम्रो काम गर्नु भएको छ', मंगलबार बिहान कुमारी हलको टेष्ट प्रिन्टको रिजल्ट पश्चात प्रोड्यूसर उदयले भने । फिल्ममा भट्टी बाली साहुनीको भूमिकामा रेखा थापा छिन् जसको अभिनयको तारिफ दर्शकले फिल्म हेरेपछि स्वत गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यध्यपी जाउँ हिड पोखराको सुटिङको क्रममा भिरबाट हाम फाल्ने हुँदा घाईते भएकी रेखाको खुट्टा बल्जिएपछि उनी कार्यक्रममा उपस्थित हुन नसकेको निर्माण यूनिटको भनाई छ । 'मैले विगतमा गरेको फिल्म भन्दा यो फिल्म निकै च्यालेन्जिङ थियो जुन कुरामा मलाई केही डर पनि लागेको थियो तर काम राम्रैसंग गर्न सफल भए जस्तो लाग्या छ', फिल्मकी अर्की हिरोईन नन्दिता केसीले भनिन् । हाल फ्री रहेकी नन्दिताले आफ्नो करिअरको ट्रनिङ पोईन्टको रुपमा मालतीको भट्टलाई लिएको बताईन् ।
जीवनले पनि विगतका फिल्ममा जस्तो आफूलाई दर्शकले देख्न नपाउने बताए । उनी उक्त फिल्ममा बिजनेस टाईकुनको रुपमा प्रस्तुत छन् । फिल्मका अर्का कलाकार सुनिल थापाले नव निर्देशकको कामको तारिफ गर्दै उनी जस्ता निर्देशक नेपाली फिल्मी बजारमा आबश्यक रहेको बताए । हाल मञ्जरी फिल्मको सुटिङमा ब्यस्त रहेका निर्देशक पाण्डे प्रेस मिटको लागि मोफसल सुटिङ सकि काठमाण्डू फर्किएका हुन् । कार्यक्रममा मालतीको भट्टीको गीत संगीतको चर्चा पनि भयो । 'मेरो करिअरकै वान अफ द वेष्ट भन्छु यो फिल्मको गीत', नन्दिता केसी फिचर गरिएको गितलाई लक्षित गर्दै कोरियोग्राफर रेनाशा राईले भनिन् । मालतीको भट्टीमा डेब्यु गर्दै सुमन गुरुङले दुई वटा गित गाएकी छिन् भने संगीतकारमा पनि कालिप्रसाद बास्कोटाले डेब्यु गर्दै संगीत भरका छन् जसको संगीतलाई फिल्मी बजारमा नयाँ टेष्ट पनि भनिएको छ ।