
कस्ले चोर्यो मेरो मन डेब्यू निर्देशक सबिर श्रेष्ठले आफ्नो फिल्ममा कलाकारको टाउको हेरेर काम नगराएको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै सबिरले फिल्ममा टाउको नभएर कथा र त्यसभित्रको पात्रले निभाउने भुमिका चल्ने बताए ।
कस्ले चोर्यो मेरो मनमा आर्यन सिग्देल र रेखा थापा कथाको मागले आएको बताउँदै प्रदर्शनको क्रममा रहेको फिल्म 'इशारा' मा पनि कथाको माग बमोजिम नै हराएका कलाकारलाई ल्याएको बताए । उनले भने, 'मैले फिल्म क्षेत्रबाट नै गुमनाम भईसकेका कलाकारलाई ल्याएँ जसको मुख्य कारण नै मेरो कथाको माग थियो ।' के म तिम्रो साथी बन्न सक्छुमा आर्यनलाई दोहोर्याउनुको कारणलाई पनि उनले कथाको माग नै भएको बताए ।
फिल्म इशाराबाट दुई हराएका अनुहार उत्तम प्रधान र भुपेन चन्दलाई सबिरले अभिनयका खानी मान्छन् । उनी भन्छन्, 'भुपी र उत्तम राम्रो अभिनय गर्न सक्ने कलाकार हुन् ।' भुपि र उत्तमलाई कसैले मूल्याङ्कन गर्न नसकेकाले नै उनीहरू हराएको सबिरको भनाई छ ।' सबिरले इशारामा यि दुई कलाकारको सशक्त अभिनय हेर्न सकिने बताए । उनले त भुपि र उत्तमले नै फिल्म हिट बनाउने दाबी गरे ।
भुपी र उत्तमका अलावा फिल्ममा रेखा थापा र उमा बेबीले पनि मुख्य भुमिका निर्वाह गरेका छन् । उनीहरू पनि कथा सुहाउँदो पात्र नै भएको सबिर बताउँछन् । फिल्ममा रेखा वकिलको भुमिकामा देखिंदैछिन् । सबिर भन्छन्, 'रेखा स्पस्ट वक्ता भएकाले पनि वकिलको भुमिकामा मैले लिएको हुँ ।' उमा बेबीले निर्माण गरेको इशारा यहि भाद्र महिनाको पहिलो या दोस्रो साता क्यू सिस्टमबाट रिलिज हुनेछ ।