
नायिका शुष्मा कार्कीले अभिनय गरेको पछिल्लो फिल्म 'बिन्दास' को हट एण्ड सेक्सी गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । प्रिमियर गीतमा नायिका कार्कीलाई नायक सुशान्त कार्कीसँग रिमझिम पानीमा अन्स्क्रिन रोमान्स गराईएको छ ।
भाद्र ८ गते रिलिज डेट तोकिएको फिल्म बिन्दासको यस प्रिमियर गीतमा रोशनी घिमिरेले पनि हट सिन दिएकी छिन् । गीतमा अर्जुन पोखरेलको संगीत, उत्तम गौडेलको शब्द, दुर्गा खरेलको स्वर तथा महेश गोदारको करियोग्राफी रहेको छ । राजु गिरीले निर्देशन गरेको उक्त फिल्मको आजबाट सानो भर्याङ स्थित युनिभर्सल कलर ग्रेडिङ स्टुडियोमा डबिङको काम शुरू गरिंदैछ ।
मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको छ । फिल्मका प्रस्तुतकर्ता मधुकुमारका अनुसार फिल्मले अहिलेको युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको छ । अहिलेका युवाहरू कुन बाटोमा गईरहेका छन् भन्ने देखाउन फिल्म निर्माण गरिएको बताउँदै मधुले भने, 'सन्देशका साथमा फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ ।'
निर्माण क्रमका बेला फिल्मको बारेमा नकारात्मक टिप्पणी भएको दुखेको पोख्दै अर्का निर्माता केसीले भने, 'यो प्रिमियर गीत हेरेर पनि थाहा हुन्छ कि हाम्रो प्रस्तुती कस्तो छ भनेर ।' उनले फिल्ममा कुनै भल्गारिटी नभएर ग्ल्यामर भएको बताए । केसीले यो फिल्म परिवार एकसाथ बसेर हेर्न मिल्ने खालको समेत रहेको बताउँदै हरेक परिवारले र बिशेषगरी अहिलेका युवाहरूले हेर्नै पर्ने बताए ।