
फिल्मको अंकगणितलाई अर्को राहत दिन 'किन लाग्छ माया' ले बाहुला माथि सारेको छ । अनौपचारिक आंकडा अनुसार फिल्मले पहिलो साता खुशि लाग्दो पिकअप गरेको छ र सीआरबीटी डाउनलोडमा पनि उल्लेख्य उन्नती । सुखद खबरहरु बीच फिल्मले नेसनल टुर (देश दौडाहा) थालेको छ । धरान र हेटौंडापछि फिल्मले भारत सीमावर्ती नारायणगढका दर्शकसँग हातेमालो गर्यो ।
धरानको गणेश टकिजपछि राजधानी तलको हेटौंडा लभस्टोरीमय रह्यो । अभिनेता राजवल्लभ कोइराला, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिवल्लभ घोरासैनी र संगीतकार लक्ष्मण शेष दौडाहामा छन् । 'सायद' पछि देखिएको संकटलाई रिकभर गर्ने खुशिमा 'किन लाग्छ माया' को यो सदस्य टोली उत्साही देखिएको छ । सुरुआती विवरण सुखद आउन थालेपछि फिल्म अकस्मात प्रमोसनल टुरमा निस्किएको थियो ।
'दर्शकीय उत्साह र प्रतिक्रिया एकदमै सकारात्मक छ । तीन दिन यताको कथा अर्कै छ र फिल्मले सफलता पाइरहेको छ', दर्शकबाट घेरिएका अभिनेता राजवल्लभले टेलिफोनमा भने । कोइराला टुर छोट्याएर निर्माणाधिन प्रोजेक्ट सो सिम्पल फिल्मांकनका लागि शनिबार राजधानी फर्कँदैछन् । अन्य सदस्यले दौडाहालाई निरन्तरता दिनेछन् ।
सोसल ड्रामा 'बोक्सी' निर्देशक लामिछानेले सूत्र फिल्मको समिक्षा गतिलो मिलिरहेको बताए । 'वास्तवमा मानिस प्रेम चाहन्छन् प्रेमको पूर्ति फिल्मले गरेको छु । दर्शक आफैमा सहि समिक्षक र न्यायाधीश हुन्', उनले भने । निर्माता घोरासैनीले अर्को फिल्म बनाउने ऊर्जा मिलेको पनि बताए । 'सफलता अश्लिलतामा हुँदैन', पछिल्लो चलन तर्फ उनको संकेत थियो, 'श्लिल फिल्म पनि वास्तवमा सफल हुन्छन् र समाजलाई आवश्यक पनि ।'