
जीवन लुईटेल, सुमन सिंह र स्वेता भट्टराई स्टारर फिल्म 'ब्ल्याक मेल' को प्रिमियर अस्ट्रेलियाको सिड्नीमा गरिने भएको छ । फिल्मका निर्माता सरद अधिकारीले दिएको जानकारी अनुसार आगामी अगस्ट ५ तारिखका दिन फिल्मको रेड कार्पेट प्रिमियर गरिनेछ ।
अष्ट्रेलियाको कम्पनी 'नाईन डबल सेभेन' ले फिल्मको प्रिमियर आयोजना गर्न लागेको हो । अष्ट्रेलियाबाट प्रकाशन गरिएको नेपाली +977 लाईफ स्टाईल म्यागजिनका संस्थापक समेत रहेका 'नाईन डबल सेभेन' का म्यानेजिङ डाईरेक्क्टर कुशल केसीले प्रिमियर गर्न लागेको निर्माता अधिकारी बताउँछन् । अष्ट्रेलिया रिलिजसँगै नेपालमा अगस्ट १४ तारिखका दिन फिल्म रिलिज हुनेछ । प्रिमियरका लागि निर्माता अधिकारीको साथमा निर्देशक मधुसुदन भट्टराई र नायक जीवन लुईटेल जाने तयारीमा छन् ।
फिल्मको प्रिमियरका लागि बिक्रि भएको हरेक टिकटको ५ डलर नेपालमा रहेको 'नेपाल मदर फाउण्डेशन' लाई सहयोग स्वरूप प्रदान समेत गरिने +977 लाईफ स्टाईल म्यागजिनका संस्थापक केसीले बताए । +977 ले नेपाली फिल्म र गीतसंगीतलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेकाले पनि पहिलो प्रयास स्वरूप ब्ल्याक मेलको प्रिमियर गर्न लागिएको केसीको भनाई छ । फिल्म निर्माण गरेर पैसा कमाउनु मात्र मेरो उद्देश्य हैन, समाज सेवा गर्नु पनि मेरो उद्देश्य हो', निर्माता अधिकारीले बताए । फिल्मलाई अष्ट्रेलियाको अन्य शहरमा पनि रिलिज गर्ने तयारीमा निर्माता अधिकारी छन् ।
सस्पेन्स शैलीको थ्रील फिल्म 'ब्ल्याक मेल' का निर्देशक मधुको पहिलो फिल्म हो तरपनि उनले आफ्नो तर्फबाट उत्कृष्ट बनाउने प्रयास गरेको बताए । उनले भने, 'स्टोरीलाई डाईरेक्सनको पक्षबाट पूर्ण न्याय गरेको छु ।' नायक जीवनले यसलाई आफ्नो प्रतिक्षित फिल्मको रूपमा पनि हेरेका छन् ।