
सुपरहिट भनिएको चलचित्र चपली हाइटले आक्रमक कलेक्सन गरेपनि यसका निर्माताले वितरकबाट पैसा नपाएको बताएका छन् । दुई करोड बढि ग्रस कलेक्सन गरेको फिल्म चपली हाइटका निर्माता अर्जुन कुमारले वितरक विरेन्द्र महर्जन र विरेन्द्रनारायण श्रेष्ठबाट हिसाबकिताब नपाएको बताउँदै यसका कारण आफ्नो आगामी प्रोजेक्ट फाटेको जुत्ता निर्माणमा अवरोध भएको बताए ।
'फिल्म प्रदर्शन भएको पनि यत्ति धेरै दिन भैसकेको छ, अझैसम्म हिसाब किताब पाएको छैन । विभिन्न हलबाट पनि पैसा उठाइसकेका छन् अझैसम्म मलाई दिएको छैन', अर्जुनले भने, 'केही समय अझै कुर्ने र नपाए पत्रकार सम्मेलन गरेर यो विषयमा सार्वजनिक गर्छु ।' हिसाबकिताव नभएपछि फिल्मले कति कमायो कति खर्च गर्यो भन्ने नै थाहा नभएको पनि उनले बताए ।
सेक्स रिभेन्ज स्टोरी चपली हाइटले प्रदर्शनको सफलतापूर्वक ५१ औं दिन पनि मनाएको थियो । विश्वका विभिन्न मुलुकमा प्रदर्शन भैसकेको फिल्म चपली हाइट लुट पछि धेरै कमाउने फिल्ममा पर्छ । पछिल्लो पटक फिल्म इजरायलमा प्रर्दशनमा आएको थियो अझै आधा दर्जन मुलुकमा यसको प्रदर्शन गर्नै लागिएको निर्माता अर्जुनकुमारले बताए । फिल्मका वितरक विरेन्द्र महर्जनले केही स्थानबाट अझै पैसा उठ्न बाँकी रहेकाले हिसाब किताब हुन बाँकी रहेको बताउँदै २० लाख रुपैयाँ निर्माताले लिइसकेको बताए ।
यस्तै फिल्मका निर्देशक दिपेन्द्र के. खनालले आफुले चपली हाइट निर्देशन गरे वापतको पारिश्रमिक पनि नपाएको बताएका छन् । 'फिल्म निर्देशन बापतको पारिश्रमिक अझैसम्म पाएको छैन सायद हिसाबकिताब मिल्दै गरेर होला', उनले बताए । तर निर्माता अर्जुनकुमार निर्देशक दिपेन्द्र के. खनाललाई निर्देशनको पारिश्रमिक बापत ५ लाख बुझाइसकेको बताए ।
त्यस्तै चपली हाइटलाई भारतको एक कम्पनीले ५० लाख रुपैयाँमा अधिकार खरिद गर्ने भनिए पनि त्यसको अहिलेसम्म सम्झौता भएको छैन । निर्माता अर्जुनकुमार भने अहिले यो विषयमा खासै बोल्न चाहँदैन । हाम्रो जिज्ञासामा उनले भने, 'मौखिक कुराकानी भएको हो । तर प्रक्रिया ढिलो भैरहेको छ ।'