नेपाली फिल्म उद्योगमा प्रतिभाशाली नायकको परिचय बनाएका राजबल्लभ कोइरालाले आफु माथि लाग्ने अनलक्की हिरोको ट्यागलाई अस्विकार गरेका छन् । आफु अभिनित फिल्म किन लाग्छ मायाको प्रमोशनल टुरको क्रममा धरान आइपुगेका कोइरालाले स्थानीय दन्तकाली एफएमको कार्यक्रम फिल्मीकुरालाई अन्तर्वार्ता दिदै आफु माथि लागेको ट्यागको खण्डन गरेका हुन् ।
बर्षमा ८० भन्दा बढी फिल्म रिलिज हुँदा तीन देखि चार वटा मात्र सफल हुने गरेको उदाहरण प्रस्तुत गर्दै आफुलाई पनि सफल अथवा असफलको रुपमा चित्रण गर्न चाहिँ मिल्ने बताए । आफुले अभिनय गरेको प्रत्येक फिल्ममा उत्कृष्ट काम गर्ने प्रयास गरेको बताउदै असफलतालाई भाग्यसँग दाँज्न नमिल्ने उनको तर्क थियो । किन लाग्छ मायामा समेत जीवन्त अभिनय गरेको बताउदै सबैबाट सकारात्मक प्रतिक्रिया पाएको राजबल्लभले बताए ।
पूर्वको अन्य ठाँउमा पुगे पनि धरान पहिलो पटक आएका राजबल्लभले धरान असाध्य मनपरेको बताए । धराने कालो बंगुरको चर्चा सुनेका उनले त्यसको स्वाद त लिए नै धरानको ब्यस्त बजारमा शपिंग गर्न समेत भ्याए । त्यस्तै फिल्म प्रदर्शन भैरहेको गणेश टाकिजमा दर्शक सामु घेरिएका राजलाई सुरुमा नयाँ गेटअपको कारण दर्शकले चिन्न गार्हो भएको थियो । शूटिंग भैरहेको फिल्म सो सिम्पलको गेटअपमा प्रस्तुत भएका राज धराने दर्शकको माया र सदभावले हर्षित देखिन्थे ।
राजबल्लभ बाहेक फिल्मका निर्माता शक्तिबल्लभ घोरासैनी, निर्देशक गोपालचन्द्र लामिछाने र संगीतकार लक्ष्मण शेष पनि दर्शकको प्रतिक्रिया बुझ्न धरान आएका थिए । अन्य स्टेसनसंगै फिल्मले धरानमा समेत राम्रै व्यापार गरिरहेको छ ।