मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब १५ सेकेन्डको चुम्बन !

फिल्मीखबर, काठमाण्डौ, 2012/07/05

नयाँ फिल्ममा पन्ध्र सेकेन्ड भन्दा लामो समयको चुम्बनका दृश्य राख्न नपाइने भएको छ । सेन्सर बोर्डले निर्माण गरिरहेको आचारसंहितामा अश्लिलतालाई यसरी कडाइ गर्न खोजिएको हो । आउँदो साता सार्वजनिक गर्न लागिएको उक्त नयाँ नीतिमा फिल्मले सामाजिक मूल्यलाई पालना गर्नुपर्ने खालका प्रावधान समेटिएको छ । ‘पन्ध्र सेकेन्ड भन्दा बढीको किस सिन राख्न पाइने छैन’, अध्यक्ष सुशिल ओझाले भने ।

अर्धपारदर्शी पहिरनमा महिलाको संवेदनशिल अंगलाई देखाउन नपाइने पनि व्यवस्था उल्लेख छ । सामाजिक मर्यादा प्रतिकूलका दृश्यलाई समेट्न नपाइने पनि जनाइएको छ । बोर्डले अश्लिल दृश्य र संवादलाई सामाजिक प्रतिकूलताको रुपमा व्याख्या गरेको छ । नेपाली सांस्कृतिक, जातिय सद्भाव, कुटनीति, राष्ट्रिय सुरक्षा, बाल मनोविज्ञानमा असर नपर्ने खालका दृश्य समेट्नु पर्ने नियम पनि आचारसंहितामा छ ।
 

मन्त्रालयले तयार गरेको उक्त आचारसंहिताको मस्यौदालाई सुझावका लागि चलचित्र विकास बोर्डको सुझाव समेटेर मस्यौदालाई अन्तिम रुप दिइने भएको छ । यसअघि २०२४ सालको आचारसंहिता अन्तर्गत फिल्म सेन्सर हुदै आएको थियो । राजसंस्थाको खारेजीपछि बोर्डले स्वविवेकमा सेन्सर गर्दै आइरहेको थियो । ‘यो एकदमै जरुरी थियो’, ओझाले भने, ‘आचारसंहितापछि फिल्म खास अनुशासनमा बाँधिने आशा लिएका छौं ।’

पछिल्लो समय अश्लिल फिल्मको निर्माणमा वृद्धि भएपछि त्यसलाई नियमन गर्न सेन्सर बोर्ड सक्रिय भएको हो । बोर्डलाई यसो गर्न चौतर्फी दवाव परेको थियो । विकास बोर्डले अस्थायी खालको स्क्रिप्ट अध्ययन कार्यदल गठन गरेको थियो । पन्ध्र सेकेन्डभन्दा लामो समय चुम्बन राख्न नपाइने बोर्डको यो नियम पपुलिस्ट मात्र हो कि यथार्थ, कार्यान्वयनले निश्चित तुल्याउनेछ ।