
फ्राइडे रिलिज अन्तर्गत शुक्रबार मोफसलमा ‘जंगल लभ’, राजधानी टेरिटोरीमा ‘खै को कस्को’ र ‘भागी भागी नजाऊ’ रिलिज हुदैछन् । तीनै सिनेमा फर्मुला श्रेणीको हो । गतसाता रिलिज भएका दुई फिल्म ‘किन लाग्छ माया’ र ‘मुनामदन’ ले टिकटका झ्यालमा कमजोर प्रदर्शन गर्दै गर्दा नयाँ फिल्म सार्वजनिक प्रदर्शन हुन लागेका हुन् । तीनै फिल्मको प्रिभ्यु मूल्यांकन गर्दा कलेक्सन कष्टकर हुनेछ ।
‘जंगल लभ’ स्वर्गिय अभिनेत्री जेसिका खड्काको फिल्म हो । उनले हालै आत्महत्या गरेकी थिइन् । निर्माता बाबु बलामीले लगानी रिकभरका लागि फिल्मको भोजपुरी संस्करण सहायक सिद्ध हुने बताए । बलामीको कथा, समिर मियाँको पटकथा रहेको फिल्मको लगानी ३२ लाख हो । ‘खै को कस्को’ पहिली महिला निर्देशक सुचित्रा श्रेष्ठको फिल्म हो जुन राजधानीका ७ पर्दाबाट रिलिज हुनेछ । राजेश हमाल र रेजिना उप्रेती स्टारर यो फिल्म सामाजिक कथामा बनेको छ ।
‘भागी भागी नजाऊ’ डेढ वर्ष अघि मोफसलमा रिलिज भैसकेको हो । पालो सूचिबाट रिलिज हुने फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । प्रेमकथा फिल्ममा विराज भट्ट, रेश मरहठ्ठा, जेनिसा केसीले अभिनय गरेका छन् ।