मिति : २०८२ ज्येष्ठ १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्री भट्टराई र अशोक शर्मा २५ बर्ष देखिको घनिष्ट मित्र

अनुप भट्टराई, काठमाण्डौ, 2012/07/04

प्रधानमन्त्री बाबुराम भट्टराई र निर्माता तथा निर्देशक अशोक शर्मा विगत २५ बर्षदेखि घनिष्ट मित्र रहेको रहस्य फिल्मीखबरले खोलेको छ । संघर्षकालिन पिरियडमा कोटेश्वरमा डेरा गरि बसेको समय देखि अशोक र बाबुराम साथी बनेको रहस्य बाहिरिएको हो जुन साथीत्वको यात्रा हाल सम्म कायम रहेको छ ।

 

आफू प्रवन्ध निर्देशक रहेको फिल्म वितरण संस्था डिजिटल सिनेमा नेपाल (डिसिएन) को भ्रमणका लागि प्रधानमन्त्री बाबुराम भट्टराईलाई मंगलबार राति अशोकले डाकेका थिए जहाँ भट्टराईलाई टुके क्यामेराबाट सुरु भएको नेपाली फिल्मको डिजिटल यात्रा र आफ्नो संस्थामा भित्रिएको नयाँ सफ्टवेयरको बिषयमा अशोकले जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्रीले नेपाली फिल्ममा प्रविधिको विकास र स्तरोन्नतीबारे जिज्ञासा राखे । शर्माले ढोकैमा राखिएको टुके क्यामेरा देखाउँदै ओस्कर जितेको फिल्म ‘स्लमडग मिलेनियर’ लाई सोही क्यामेराले खिचिएको उदाहरण दर्शाए ।

 

भट्टराईलाई अशोकले बदलिदो परिस्थितीमा डिजिटल फर्मयाटमा बनेका लुट, मिस यु र अपवादको टेलर पनि देखाएका  थिए । सन् २०१५ सम्म युरोप र अमेरिकाबाट समेत परम्परागत फिल्म (सेल्युलोइड) प्रविधि विस्थापित हुने एक विदेशी फिल्म प्रतिवेदन प्रबन्ध निर्देशक शर्माले प्रधानमन्त्रीलाई सुनाएका थिए । त्यतिबेलासम्म नेपालमा पनि डिजिटल प्रविधिको सुलभता र बाहुल्य हुने अनौपचारिक प्रक्षेपण प्रधानमन्त्रीसामु प्रस्तुत गरिएको थियो ।

 

प्रधानमन्त्री भट्टराईका साथमा उनकी पत्नी हिसिला पनि डिसिएन भ्रमणमा पुगेकी थिईन् । डिसिएन भ्रमणसंगै टेक्नोलोजीलाई बुझ्न नीर शाह निर्देशित फिल्म मसानलाई कुमारी हलमा प्रदर्शन पनि गरियो । प्रधानमन्त्रीले हिसिलासंगै पपकर्न र कफीको चुश्कीमा मसान पुरै हेरे । मसान हेर्न प्रधानमन्त्री पुत्री मानुसी, नेता देबेन्द्र पौडेल लगायतका माओवादीका केही कार्यकर्ताहरुको उपस्थिति थियो । ‘यसअघि बेफुर्सदीले हेर्न सकेको थिइँन’ भट्टराईले भने, ‘फिल्म हेर्नै पर्ने राम्रो बनेको रहेछ ।’ बाबुराम आउने भएपछि क्यूएफएक्सले रात्री सोको निर्धारित समयमा ढिलाइ गरेको थियो ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनको उपस्थितिले समग्र उद्योगका लागि ठूलो हौसला भएको भन्दै नीर शाहले कार्यक्रममा हर्ष ब्यक्त गरे । प्रधानमन्त्रीले फिल्म हेर्ने ईच्छा देखाएपछि हिरो राजबल्लभ कोईराला पनि दङ्ग हुदै कुमारी हलमा उपस्थित भएका थिए । उनी जुङ्गा सहितको नयाँ गेटमा उपस्थित हुँदा मिडियाको ध्यान उनको नयाँ लुक्स प्रति तानिएको थियो ।  

प्रधानमन्त्रीसंगको निकटताको बिषयमा मिडियाबाट विभिन्न शैलीले समिक्षा भईरहेका बेला अशोकले आफूहरुको सम्बन्ध अहिलेको नभई विगत २५ बर्ष देखिको रहेको बताए । उनले भने, 'हाम्रो सम्बन्ध अहिले देखिको हैन उहाँ जनमोर्चामा हुँदा देखिको हो । तर पनि उहाँ पावरमा पुग्दा पनि हाम्रो सम्बन्ध अझै उस्तै छ र आगामी दिनमा पनि सम्बन्ध मजबुत हुने विश्वास छ ।' उता प्रधानमन्त्रीको स्वकीय सचिव विश्वदीप पाण्डेले पनि सम्बन्धको बिषयमा बाहिरिएको खबर सहि नभएको बताउदै २०४० को दशकमा भएको चलचित्र आन्दोलन देखि अशोक शर्मासंग प्रधानमन्त्रीको निकटता रहेको बताए । 

 

यध्यपी सरकारी स्तरका फिल्म संग सम्बन्धीत संस्थाको बारेमा ध्यान नदिदै निजी संस्थामा पटक पटक बाबुरामले भ्रमण गुर्नलाई भिन्न कोणले हेरिएको छ । हेरिएको कोण कस्तो छ भने दुई महिना अघि फोहोर बढार्ने प्रधानमन्त्रीको फल्प कार्यक्रममा अशोकले कलाकारहरुको तर्फबाट पुर्‍याएको सहयोगको गुन तिर्न डक्टर भट्टराईले डिसिएन भ्रमण गरिदिएका हुन् ।

 

यस्तै प्रधानमन्त्री बाबुराम भट्टराईले फिल्मको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आसन्न बजेटमा फिल्मलाई सम्बोधन गर्नेमा शंका व्यक्त भैरहँदा उनले सरकारी सम्बोधनप्रति ढुक्क हुन आग्रह गरे । नीर शाह निर्देशित फिल्म ‘मसान’ हेरेर मंगलबार अबेर राती कुमारी हलबाट बाहिरिएका उनले फिल्मीखबरको जिज्ञासामा सरकारी प्रतिबद्धता दोहोर्‍याएका हुन् ।