
नेपाली फिल्म ‘किन लाग्छ माया’को प्रोमोशनका लागी देश दौडाहामा रहेको नवनायक शंकर लामिछाने सहितको टोली पोखरा आईपुगेको छ । देश दौडाहामा रहेको टोलीले मंगलबार पोखराका संचारकर्मीहरुलाई फिल्मको बारेमा जानकारी गराएको छ । टोलीले फिल्मलाई नेपाली परिवेश अनुसार फरक शैलीले बनाएको दावी गर्दै एक पटक सबैलाई हेर्नका लागी आह्वान समेत गरेको छ ।
‘पछिल्लो समयमा नेपाली फिल्म छाडा दृश्य र संवादमा अल्झिरहेको अवस्थामा फिल्म किन लाग्छ माया त्यसबाट अलग छ’, संचारकर्मीहरुमाझ नायक लामिछानेले भने, ‘सबै तह र तप्काका दर्शकहरुका लागी फिल्म बनेको छ ।’ फिल्म ‘किन लाग्छ माया’ मोफसलका अन्य स्थानसंगै पोखराको बिन्दबासिनी हलमा असार १५ गतेदेखि प्रदर्शनमा आएको हो । काठमाण्डौमा भने मोफसलमा भन्दा एक साता अगाडी नै प्रदर्शनमा आईसकेको छ ।
फिल्मलाई माया प्रेमका विभिन्न परिघटनाहरु जोडेर कथानक बनाईएको निर्देशकले बताए । फिल्मले नेपाली सामाजिक परिस्थितीमा हुने माया, प्रेमलाई चित्रण गरेको उनले दावी गरे । ‘माया प्रेममा मात्र होईन समाजमा समेत ईमान्दारिता र समर्पणको खाँचो छ’, निर्देशकले फिल्मको बारेमा वर्णन गर्दै भने, ‘नेपालको सामाजिक र साँस्कृतिक पक्षलाई फिल्ममा उजागर गरिएको छ ।’ फिल्मलाई दर्शकहरुले अत्याधिक मन पराएकोले हिट हुनेमा कुनै दुई मत नरहेको उनले जिकिर गरे ।
पपुलर मल्टीमिडियाको ब्यानरमा निर्माण भएको फिल्म ‘किन लाग्छ माया’ को विशेषगरि संगीत पक्ष उत्कृष्ट भएको कारण दर्शकहरु हलसम्म पुगेको बताईएको छ । लक्ष्मण शेषको संगीतमा गायक प्रमोद खरेलले गाएको फिल्मको शिर्ष गीतको सिआरबिटि समेत मोबाईल प्रयोगकर्ताहरुले उल्लेख्य मात्रामा डाउनलोड गरेका छन् । फिल्म ‘किन लाग्छ माया’ मा राजवल्लभ कोईराला, निखिल उप्रेती, झरना थापा, गरिमा पन्त, रवी गिरी लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । अभिनाश श्रेष्ठको लेखन तथा पटकथा रहेको फिल्ममा द्वन्द रोशन श्रेष्ठको रहेको छ । फिल्मलाई शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्मको अन्य टिम भने भोली मात्र देश दौडाहामा निस्कनेछ ।