
कुनै बेला हलिउड सेलिब्रेटी मध्ये कसले पहिला सगरमाथा चढ्ने भनेर प्रतिस्पर्धा भएको खबर पढेकै हो । अब भने नेपाली सोसलाइट पनि अग्लो चुचुरो चढ्ने रस्साकस्सीमा ओर्लिएका छन् । उनीहरु बीच ८ हजार ८ सय ४८ मिटरको डाँडो चढ्ने प्रतिस्पर्धा देखिएको छ । अभिनेता रेश मरहठ्ठा पछि अभिनेत्री निशा अधिकारी एभरेस्ट चढ्ने तयारीमा छिन् । स्रोत सगरमाथा चढ्ने तयारीकै लागि निशा आइस ट्रेकिङका लागि हिमाल पारिको मुस्ताङ हानिएको बताउँछ ।
‘मायाज बार’ र ‘धुवाँ’ को फिल्मांकन सकिएपछि निशा सगरमाथा तिर सोझिएकी हुन् । हिउँ पदयात्रामा सफल भए निशाले सगरमाथा चढ्ने प्रमाणपत्र पाउने छिन् । एक पर्यटन कम्पनीको साथमा ‘मायाज बार’ की आइटमगर्ल फ्रेस हुन जोमसोम लागेकी हुन् । पछिल्लो रिलिज प्रोजेक्टको पत्रकार जमघटमा पनि निशा उपस्थित थिइनन् । लगातारको भेन्चरपछि उनी मानसिक शान्तिको खोजीमा थिइन् र विकल्पमा हिउँ पदयात्रा रोजिन् ।
यसअघि हिरो तथा निर्माता रेशले अग्लो चुचुरो चढ्ने घोषणा गरेका थिए । आफ्नै सपनाको फिल्म ‘च्यालेन्ज’ रिलिज हुन नसकेपछि रेशले सगरमाथा आरोहणको योजना पोस्टपोन्ड गरेका हुन् । आधार शिविरको उचाइमा फिल्म छायांकन गर्ने योजना समेत रेशको छ । भोटेकोसीमा बन्जीजम्प हानेपछि अभिनेत्री रेखा थापाले पनि आफ्नो लक्ष्य सगरमाथा रहेको बताएकी थिइन् ।