
समलिंगी दुई युवतीको मनोवैज्ञानिक कथामा बनेको फिल्म 'सुनगाभा' जर्मनीको ह्याम्बर्ग फिल्म फेस्टिभलमा छनोट भएको छ । असोज ११ देखि २६ गते सम्म चल्ने सो महोत्सवमा फिल्म लिएर आफूलाई सहभागी हुन निमन्त्रणा गरिएको निर्देशक सुवर्ण थापाले जानकारी गराए ।
२० औं संस्करणको उक्त फेस्टिभलमा प्रिमियर गरिने सुनगाभालाई अंग्रेजी, फ्रेञ्च र जर्मनी भाषामा सबटाईटल गरिने निर्देशक थापाले बताए । बिश्वका अन्य फेस्टिभलमा पनि लगिने योजना बुनेका थापाले नेपालमा दशैंको छेकोमा रिलिज गर्ने तयारी गरेको बताए । गत मे २० तारिखका दिन कान्स फिल्म फेस्टिभलको फिल्मी बजारमा प्रदर्शन गरिएको सो फिल्ममा निशा अधिकारी र दिया मास्के समलिंगीको भुमिकामा छन् ।
फ्रान्सको पेरिसमा पोस्टप्रोडक्सन गरिएको सो फिल्ममा सौगात मल्ल, बसुन्धरा भुषाल, सरिता गिरी, मेनुका प्रधान लगायतको अभिनय रहेको छ । काठमाण्डौमा सुटिङ गरिएको फिल्मलाई फ्रान्सेली छायाँकार सारा कोर्नुले खिचेकी हुन् । स्नो फ्लावर्सबाट सुनगाभा बनाईएको सो फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन् भने निर्माताको रूपमा निर्देशक थापाको साथमा रप्सोडी प्रोडक्सन रहेको छ ।