
भाद्र २९ गतेका लागि रिलिज डेट तोकिएको फिल्म 'बडीगार्ड' का निर्माता सुशिल पोखरेल र द्धन्दनिर्देशक हिमाल केसी विच ठूलै खटपट भएको छ । यति सम्म कि हिमाल अब सुशिलको कुनै पनि प्रोजेक्टमा काम गर्न तयार छैनन् ।
आईतवार राति राजधानीको भृकुटीमण्डपमा बडीगार्ड फिल्मको रि-सुट गर्ने क्रममा हिमाल र सुशिलको कुरा नमिलेपछि अहिले बिबादले उग्र रूप लिएको हो । रि-सुटका क्रममा हिमालले सुशिलको आग्रहमा ॐ महर्जनलाई सानो भुमिकामा अभिनय गर्न पठाए । ॐसँग पारिश्रमिकको कुरा नमिलेपछि सुशिलले अपशब्द प्रयोग गरेको आरोप लगाउँदै हिमालले आईन्दा सुशिलसँग काम गर्ने बताएका हुन् । हिमालले भने, 'सुशिलजीले मेरो कलाकारलाई अपशब्द प्रयोग गर्नुभयो त्यसपछि मैले उसलाई काम नगर्न आग्रह गरेर फिर्ता बोलाएँ । अब म मात्र हैन मेरा कलाकारहरू पनि उहाँको प्रोजेक्टमा काम गर्न तयार हुने छैनन् ।'
यता सुशिलले हिमालले पठाएको असिस्टेन्ट फाईट डाईरेक्टर बब्लु थापाले सेट नै छोडेर हिडेपछि युनिट अलपत्र परेको र आफूलाई करिब डेढ लाखको घाटा लागेको बताए । 'हिमाल आफू पनि नआउने अनि पठाएको असिस्टेन्टले पनि सेट छोडेर हिडेपछि मध्यरातमा सुटिङ स्थगित गर्दा निकै दु:ख समेत खेप्न पर्यो', सुशिलले भने, 'पछि बल्ल तल्ल शंकर महर्जनलाई आग्रह गरेर सुटिङ सकियो । शंकर नआएको भए करिब ४० जनाको टिम मध्यरातमा अलपत्र पर्थ्यो ।'
यस्तै सुशिलले आफूलाई बदनाम गर्न अपशब्द प्रयोग गरेको आरोप लगाएको बताए । उनले भने, 'मैले कहिल्लै पनि कलाकारलाई गाली गर्दिन ।' यस्तै निर्माता सुशिलले हिमालले सुटिङ सेटमा आउने प्रतिवद्धता व्यक्त गरेर पनि नआएको बताउँदै हिमालको प्रोफेस्नल काम प्रति प्रश्न चिन्ह ठड्याउँदै भने, 'मैले लगातार तीन फिल्ममा उसलाई नै लिएँ तर उसकै आग्रहमा । मैले कहिल्लै उसलाई प्रपोज गरेको छैन । अब त झन् गर्ने कुरै भएन ।'
जय शिब शंकर, निगरानी र बडीगार्डमा काम गरेका हिमाललाई अब कहिल्लै नलिने बताउँदै सुशिलले आफूलाई जस्तै गरि अरू निर्मातालाई धोका नदिन हिमाललाई फिल्मीखबरको माध्यमबाट आग्रह पनि गरे ।