
गत असार ८ गते राजधानी र १५ गतेबाट मोफसलका हलमा प्रदर्शन भईरहेको फिल्म 'किन लाग्छ माया' को डिभिडी राईट १० लाख ६ हजारमा बेचिएको छ । फिल्मका निर्माता शक्तिबल्लभ घोरासैनीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार बुढा सुब्बा म्युजिकलाई देश बिदेशको राईट सहित उक्त रकममा बेचिएको हो ।
फिल्म प्रदर्शनबाट चित्त बुझ्दो प्रतिक्रिया पाईरहेका निर्माता घोरासैनीले दर्शकको प्रतिक्रिया र चर्चाको हिसाबले बुढासुब्बाले राम्रो रकम दिएको बताए । यस्तै फिल्मलाई अष्ट्रेलिया, अमेरिका, कतार, बेल्जियम लगायतका मुलुकमा पनि रिलिजको तयारी गरिंदैछ । निर्माता घोरासैनीले डिभिडी राईट सहित नेपाल र बिदेशको प्रदर्शनले आफूलाई घाटा नलाग्ने बताए । उनले भने, 'मूल धारका फिल्मले राम्रो व्यापार नगरेको अवस्थामा मेरो फिल्मलाई दर्शकले रूचाईदिनु भएको छ । फिल्म हेर्ने दर्शकको संख्या बढ्दै गईरहेकोले हामी मुनाफा जान्छौ भन्ने लागेको छ ।'
यता निर्माता घोरासैनीले राजधानीका केहि हलबाट आफ्नो फिल्म राम्रो चल्दा चल्दै पनि उतार्देकोमा चित्त दुखाए । उनले भने, 'यस्तो समयमा मेरो फिल्म राम्रोसँग चलिरहेको थियो तर राजनैतिक खेलको चपेटामा परेर हामीलाई केहि घाटा लागेको छ ।' सामाजिक कथामा बनेको उक्त फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, झरना थापा, राजबल्लभ कोईराला, गरिमा पन्त र शंकर लामिछानेको मुख्य अभिनय रहेको छ । फिल्मको शिर्ष गीत अहिले अधिकांशको मुखमा झुण्डिन सफल भएको छ ।