
कतारको राजधानी दोहामा चलचित्र विकास बोर्डले आयोजना गर्ने भनेको अर्न्तराष्ट्रिय चलचित्र महोत्सव नहुने भएको छ । बोर्डको आयोजनामा भदौको ५ गतेदेखी ७ गतेसम्म खाडी मुलुक कतारमा गर्ने निर्णय गरेको थियो ।
पछिल्लो पटक नेपाली चलचित्रमा यौनजन्य सामग्री बढ्दै गएको र अश्लिल चलचित्र बनेको विषयलाई लिएर कतार सरकारले नेपालको तर्फबाट आयोजना गर्ने लागिएको अर्न्तराष्ट्रिय चलचित्र महोत्सवलाई स्विकृत नदिएको चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले बताए । 'अश्लिल चलचित्र बन्दै गरेको अवस्था र कतार सरकारको आफ्नै नियम कानुनले हामीले गर्ने भनिएको अर्न्तराष्ट्रिय चलचित्र महोत्सव कतारमा नहुने भएको हो', उनले भने, 'कतार सरकार र गैरआवासिय नेपालीसँग सहकार्य गरेर कार्यक्रम आयोजना गर्न लागेका थियौं तर कतारको कानुन कडा रहेछ ।'
अन्य देशको चलचित्रले आफ्नो देशको सँस्कृतीलाई प्रभाव पार्ने सक्ने भन्दै कतार सरकारले महोत्सव आयोजनाको स्विकृती नदिएको भण्डारीले बताए । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको बजार खोज्न र दायरा फराकिलो बनाउने उद्देश्यले कतारमा अर्न्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने लागेको थियो । बोर्डले राष्ट्रिय चलचित्र महोत्सव सुर्खेतमा आयोजना गरिसकेको छ । नेपाली चलचित्रको नयाँ-नयाँ बजार खोज्नका लागि महोत्सव आयोजना गर्ने लागेकोमा कतार सरकारको अनुमती नहुँदा धक्का लागेको भण्डारीले बताए ।
कतारमा महोत्सव आयोजना गर्ने नसके पनि दुबई या मलेशियामा महोत्सव आयोजना गर्नेका लागि प्रारम्भिक काम भएको भण्डारीले बताए । 'नयाँ आर्थिक बर्ष पछि बोर्डको नयाँ कार्यक्रम तालिका अनुसार हामीले असोज कार्तिक सम्ममा दुबई वा मलेशियामा अर्न्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने योजनामा छौं', उनले भने । ५ लाख नेपाली रहेको कतारमा बोर्डले अर्न्तराष्ट्रिय चलचित्र महोत्सव गरेर नेपाली चलचित्रको दायरा फराकिलो बनाउँदै कतारमा नियमित नेपाली चलचित्र प्रदर्शन गर्ने योजना बनाएको थियो । कतारमा अनुमती नपाएपछि ५ लाख नै नेपाली रहेको मलेशिया र साढे ३ लाख नेपाली रहेको दुबईलाई प्राथमिकतामा राखेको हो ।