
करिब अढाई घण्टा ढिलो शुरू भएको फिल्म 'संसार आफ्नै' को अडियो लञ्च कार्यक्रममा हिरो हिरोइन नआए पछि निर्माता गोबिन्द शाहीको मुहारमा खासै चमक देखिएन । शाही मात्र हैन उपस्थित सञ्चारकर्मीले पनि कलाकार बिनाको अडियो लञ्चलाई खल्लो महसुस गरे ।
फिल्मको मुख्य पात्र नायिका झरना थापा र सुमन सिंहलाई निमन्त्रणा गरिएको थियो तर दुबै उपस्थित भएनन् । यस्तै फिल्मका संगीतकार ४ मध्येका ताराप्रकाश लिम्बु र सूर्य/चन्द्र उपस्थित भए तर बसन्त सापकोटा उपस्थित भएनन् । अडियो विमोचनमा संगीतकार उपस्थित नहुँदा पनि कार्यक्रमले सोचे अनुरूपको राम्रो बन्न सकेन । तर पनि निर्माता तथा फिल्मका नायक समेत रहेका गोबिन्द शाहीले आमन्त्रित पाहुनालाई स्वागत गर्दै फिल्मको गीत संगीतको बारेमा बोले ।
फिल्मका कलाकार उपस्थित नभए पनि अडियोको निर्माता संघका अध्यक्ष राजकुमार राई, बरिष्ठ फिल्मकर्मी अशोक शर्मा, निर्देशक रञ्जित राना, नायक तथा निर्माता शाही, गायक दिपक लिम्बु, संगीतकार ताराप्रकाश लिम्बु र सूर्य/चन्द्र तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष प्रदिप निरौलाले संयुक्त रूपमा विमोचन गरे । अडियो विमोचन पश्चात फिल्मीखबरसँग कुरा गर्दै शाहीले फिल्मको गीतबाट राम्रो प्रतिक्रिया पाएको बताउँदै फिल्मबाट पनि राम्रो प्रतिक्रिया पाउने आश व्यक्त गरे ।
श्रावण १८ गते देखि प्रदर्शनमा आउन लागेको सो फिल्ममा पाँच गीत स्मावेश गरिएको छ । जसमा बसन्त सापकोटाले तीन र ताराप्रकाश तथा सूर्य/चन्द्रले एक-एक गीतमा संगीत दिएका छन् । विपिन किरण, मदन घिमिरे, दयाराम पाण्डे र सूर्य/चन्द्रको गीतमा स्वरूपराज आचार्य, राजेश पायल राई, दिपक लिम्बु, अञ्जु पन्त, सनुप पौडेल, सबनम गुरूङ र राम श्रेष्ठले स्वर दिएका छन् ।