
एक साता अघि सुटिङ शुरू गरिएको फिल्म 'धन्दा' को पहिलो सेड्यूल अर्न्तगतको ५० प्रतिशत काम सकिएको निर्माता बाबुराम दाहालले फिल्मीखबरलाई जानकारी गराए । १५ दिनको सेड्यूल निकालिएको सो फिल्मको दोस्रो सेड्यूल भने करिब एक महिना पछि शुरू गरिनेछ ।
आज ८ औं दिनको सुटिङ स्पटबाट बोल्दै निर्माता दाहालले अभिनेता अर्पण थापाको लुक्स चेञ्ज गर्नु पर्ने भएकाले एक महिनाको ब्रेक राखिएको बताए । अर्पणले फिल्मका लागि अहिले आफ्नो तौलमा १२ केजी घटाएका छन् भने एक महिना पछि उनले तौल बढाउने पर्ने हुन्छ । सम्भवत पात्रलाई यसरी चेञ्ज गरेर सुटिङ गरिएको यो पहिलो फिल्म हुनुपर्छ ।
अभिनेता थापाले नै लेखेको धन्दा सामाजिक कथामा आधारित छ तर फिल्मको थिम भने अहिले बाहिर ल्याईएको छैन । थिम मात्र हैन सुटिङ स्पटमा अभिनय गरिरहेका कलाकारको तस्विरहरू पनि सार्वजनिक नगर्ने पक्षमा छ निर्माण युनिट । बुझ्नमा आए अनुसार यो फिल्मले काठमाण्डौमा हुने गरेका थुप्रै धन्दाका बिषयको बिष्फोटन गर्नेछ । सुदर्शन थापा निर्देशित सो फिल्ममा अर्पणको साथमा समुना केसी, पुष्कर गुरूङ, दिलभुषण पाठक लगायतले अभिनय गर्दैछन् ।
अभिनेत्री करिष्मा मानन्धरलाई यस फिल्मको नेगेटिभ रोलमा अफर गरिएको थियो । उनले नगर्ने बताए पछि भुवन केसीकी पूर्व पत्नी सुस्मिता केसीलाई अफर गरिएको थियो । उनले पनि फिल्म नखेल्ने बताए पछि अहिले सो रोलमा कुन कलाकार लिईेको छ त्यो भने सस्पेन्स राखिएको छ । निर्माता दहालका अनुसार हल्ला धेरै भएकाले अहिले उक्त पात्रलाई सस्पेन्स नै राखिएको हो ।