
आरोप पुष्टीका लागि यथेष्ट प्रमाण नभएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मोडल दिक्पाल कार्कीलाई रिहा गरेको छ । साईबर क्राईम अर्न्तगत सामाजिक अपराधको मुद्धामा उनलाई प्रहरीले एक हप्ता अनुसन्धानका लागि हिरासतमा राखेको थियो तर आरोप लगाउने पक्षले दिएको उजुरीमा प्रयाप्त प्रमाण नभएको भन्दै प्रशासनले ७ हजार धरौटी सहित उनलाई तारिखमा छाडेको हो ।
प्रशासनका अनुसार तोकिएको एक महिने तारिखमा दिक्पाल नियमित रुपमा उपस्थित भए सो धरौटी रकम फिर्ता हुनेछ । अनुसन्धानमा राखेको प्रहरी प्रभाग जावलाखेलले दिक्पाललाई बुधबार नै छाड्ने फिल्मीखबरलाई जनाएको थियो तर सो दिन सरकारी वकिलको ब्यस्तताले उनलाई नछाडेको जनाएको छ । सात दिने अनुसन्धान म्याद सकिएपछी दिक्पाल विरुद्ध हिरो राज घिमिरेले पुनः चौकीमा उजुरी दिने कसरत गरेका थिए तर उनको उजुरी प्रहरीले पुनः दर्ता गरेन ।
यस्तै दिक्पाल र विनितासंग जोडिएको सो ईश्यु अब हनुमान ढोका पुगेको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार मोडल दीपशिखा खड्काले जावलाखेलमा परेको उजुर बमोजिम बिहिबार हनुमान ढोकामा हिरोईन विनिता बराल र दिक्पाल विरुद्ध उजुरी दिएकी छिन् । फिल्मीखबरले नयाँ अपडेटमा यो खबर विस्तृतमा राख्ने छ । यस्तै दिक्पाललाई हिरासत मुक्त गरिए पनि दोषी प्रमाणित नहुन्जेल सम्म कानुनी प्रक्रिया जारी राख्ने हिरो राज घिमिरले बताए । उनले भने, 'आज केही साथीहरु पनि हनुमान ढोका पुगेको खबर सुनेको छु त्यसैले यो बिषयमा म अडिग रहन्छु ।'
उता नाम नखोल्ने सर्तमा जावलाखेल चौकीका एक सव ईनिस्पेक्टरले दोषी प्रमाणित हुने भए यतैबाट हुने भन्दै हनुमान ढोकामा उजुर गर्नुको अर्थ नरहेको बताए । यस्तै क्लिन चिट पाएपछी दिक्पालले एकातर्फ खुशी ब्यक्त गरेका छन् भने हनुमान ढोकामा परेको उजुरीले अचम्मित भएको बताए । उनले भने, 'विनिता दिदीले अघि भन्नु भएको थियो हनुमान ढोकाबाट फोन आएको थियो । हेरौ फेरी के-के हुने हो ।'
बिनय डिसी नामको फेसबुक एकाउन्टबाट आएको गाली गलौजका भाषालाई लिएर हिरो राजले करिब डेढ हप्ता अघि महानगरीय प्रहरी प्रभाग ललितपुरमा दिक्पाल विरुद्ध उजुरी दिएका थिए र सोही उजुरी उपर प्रहरीले अनुसन्धानका लागि दिक्पाललाई हिरासतमा राखेको हो ।