
फिल्म रिलिजको क्यालेन्डर लिष्ट पल्टाउने हो भने असार २९ को मितीमा ३ वटा फिल्म रिलिज हुँदैछन् । तर ती तीन मध्ये दुईको सेन्सर प्रक्रिया पास हुन अझै बाँकी छ भने एकको सवै काम सकिएको छ । सवै काम सकिएको फिल्म हो मालतीको भट्टी भने सेन्सरको काम सक्न बाँकी फिल्म तँ त सार्है सप्रिस नि बद्रि र लक हुन् ।
दुई दशकको फिल्मी करिअरमा भिन्न शैलीले मालतीको भट्टी निर्माण गरेका प्रदीप उदयको सो फिल्मको सेन्सर गरिएको छ । 'हामी सभ्य फिल्म निर्माण गर्छौ त्यसैले सेन्सरमा कहिले झन्झट ब्यहोर्दैनौ', प्रोड्यूसर उदयले भने । उदयका अनुसार मालतीको भट्टीले यूनिभर्सल सर्टिफिकेट पाएको छ । तसर्थ यो फिल्म अब सवै बर्गका दर्शकले हेर्न सक्छन् । सेन्सर प्रक्रियामा अबैज्ञानिक कडाई र अनुगमन पनि फितलो हुँदा सेन्सरले दिएको सर्टिफिकेटको यहाँ कुनै तुक छैन यध्यपी सरकारी प्रक्रिया पूरा गरेर प्रदर्शन अनुमतीको सर्टिफिकेट हातमा परेको समय फिल्मकर्मीका लागि निकै खुशीको क्षण हो ।
'देश भरिका ४५ वटा हलमा लाग्दैछ तसर्थ रिलिज छेकोमा एक किसिमको उत्साह पनि पलाएको छ', प्रोड्यूसर उदय भन्छन् । सामाजिक कथामा फिल्म बनाएका उदयले एक पटक आफ्नो फिल्म हेरि प्रतिक्रिया दिन आग्रह गरे । फिल्मलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । तर मालतीको भट्टीको बारम्बार प्रदर्शन मिती हेरफेर भईरहेकाले पाण्डेले पहिलो फिल्मको प्रोमोशनमा चाहेर पनि साथ दिन सकेका छैनन् । किन कि दुई साता अघि उनी दोस्रो फिल्म मञ्जरी निर्देशनका लागि बुटबल गएका छन् । जुन कुराले पाण्डे र प्रोड्यूसर बीच एक किसिमको मनमुटाव बिजारोपण भएको खबर पनि बाहिरिएको छ ।
जीवन लुइटेल, रेखा थापा तथा नन्दिता केसी लिड रोलमा रहेको सो फिल्म एक भट्टी वाली युवतीमाथि केन्द्रित रहेको बताईएको छ । प्रतिक्षित फिल्मको रुपमा हेरिएको मालतीको भट्टीको शिर्ष गित बालबालिकाको मुख–मुखमा पनि झुन्डिन सफल भएको छ ।