गत शुक्रबार फिल्मीखबरमा प्रकाशित समाचार बमोजिम चलचित्र बिकास बोर्डको नयाँ सदस्य पदका लागि रोज राणालाई सिफारिस गरिएको छ । भ्रष्टचार आरोपका कारण बिबादमा परेका आफ्ना सदस्य निलहरी काफ्लेलाई सो पदबाट फिर्ता बोलाउदै चलचित्र निर्माता संघले रोजलाई उक्त स्थानमा पठाउनका लागि मन्त्री समक्ष सिफारिस गरेको हो ।
संघ अध्यक्ष राजकुमार राई, उपाध्यक्ष उदय सुब्बा, सचिव सुरेश दर्पण पोखरेल तथा सल्लाहकार रमेशजंग रायमाझीको एक टोलीले आज दिउँसो २ बजे संचारमन्त्री राज किशोर यादवलाई भेटी रोजको नाम सिफारिस गरेको हो । सिफारिस पत्र बुझाउने क्रममा रोज पनि सोही टोलीसंगै मन्त्री कार्यालय सिहदरबार पुगेका थिए । यस्तै सोही समयमा चलचित्र बिकास बोर्डको तर्फबाट अध्यक्ष गणेश भण्डारी, सदस्य विकास आचार्य र विवादमा परेका निलहरी काफ्लेसंग निर्माता संघका पदाधिकारीको मन्त्री कार्यालयमा जम्काभेट पनि भएको थियो ।
बाहिरिएको खबर अनुसार निलहरी बचाउका लागि गणेश भण्डारीको टोलीले मन्त्री समक्ष आफ्ना कुरा राखेको छ । तर यो बिषयमा अध्यक्ष भण्डारीसंग प्रश्न गर्दा उनले कार्यालयको नियमित काम कारबाहीको ब्रिफिङका लागि मन्त्री भेट्न गएको बताए । यस्तै निर्माता संघले फिर्ता बोलाई सकेको ब्यक्तिलाई पनि ब्रिफिङका लागि संगै लगेको बिषयमा प्रश्न उठ्न सक्छ नि भन्ने फिल्मीखबरको जिज्ञासामा उनले बाहालवाला सदस्य भएका नाताले काफ्लेलाई संगै लगिएको तर उनका बिषयमा कुनै कुराकानी मन्त्रीसंग नभएको भनी प्रतिक्रिया दिए ।
यस्तै निर्माता संघका अध्यक्ष राईले अभियोग लागेका कारण बोर्डले निलहरीलाई फिर्ता बोलाई सकेकाले जसले जे भने पनि उनी पुर्नबहाली हुन नसक्ने बताए । यस्तै रोजको सिफारिसका लागि मन्त्री भेट्न गएका सचिव सुरेश दर्पण पोखरेलका अनुसार एक हप्ता भित्र मन्त्रीले सिफारिस पत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएको बताए । उनले भने, 'ब्राजिलबाट प्रधानमन्त्री नेपाल फर्किने टाईम र हाम्रो भेटघाटको टाईम करिब एउटै भएकाले धेरै बेर कुरा हुन पाएन तर उहाँले एक हप्ता भित्र रोजको नाममा आफ्नो निर्णय दिने बताउनु भएको छ ।'