
केही दिन यता मोफसलको राजधानी भनेर चिनिने बुटवल शहर लगायत आसपासका क्षेत्रमा मञ्जरी फिल्मको शुटिङ हुँदै आएपछि बुटवल फिल्ममय जस्तै भएको हो । फिल्मको शुटिङ हेर्नका लागि बुटवलवासीहरुको घुइचो लाग्न थालेको छ । मालतीको भट्टी फिल्म मार्फत डेब्यू गरेका नवनिर्देशक गणेश देव पाण्डेले फिल्मको निर्देशन गरिरहेका छन् ।
निर्देशक पाण्डेले फिल्ममा अधिकांश प्रमुख पात्रहरुमा नयाँ अनुहारलाई नै प्राथमिकता दिएको बताए । यसै फिल्मबाट बरिष्ठ कलाकार टिका पहारीका छोरा गौरब पहारी र सुजाता कोईरालाले डेब्यु गर्दैछन भने स्थानिय कलाकारहरुको पनि यस फिल्ममा उपस्थिती रहेको निर्देशक पाण्डेले बताए । चर्को घाम र तातो हावाको साथ बुटवलमा धमाधम शुटिङ भैरहेको मञ्जरी फिल्मको अहिले सम्म २० प्रतिशत छांयाकन पुरा भएको बताईएको छ ।
प्रचण्ड गर्मी लगाएतका समस्याहरु हुँदाहुँदै पनि छायांकन शुरु भएको २ हप्तामा भएको यो प्रगती उल्लेखनिय रहेको मञ्जरी युनिटले जनाएको छ । बुटवलकै युवा निर्देशक गणेश देवको लेखन तथा निर्देशन रहेको सो फिल्मका निर्माताहरुमा महेश चालिसे, नरेश पाण्डे हुन् । कलाकारहरुमा गौरब र सुजाताको साथमा बिष्णु रिजाल, टिका पहारी, कोपीला थापा, आभा अर्याल, सरीता भण्डारी, मुरली प्रसाद कशौधन, कुलचन्द्र पुरी, शान्तराम गिरी, अशोक गिरी, बाल कलाकार पुजन थापा छन् ।
किशोर अवस्थाको प्रेमकथामा आधारित मञ्जरीमा कालीप्रसाद बाँस्कोटाको संगित छ । करिब ६० लाख रुपैयाँको लागतमा निर्माण हुने बताइएको सो फिल्मको कथामा बुटवलको बस्तुस्थिती र वास्तबिकता झल्काउने प्रयास गरिएको निर्देशक पाण्डेले बताए । बुटवलको सामाजिक परिवेश र यहाँको यथार्थ बर्तमान परिस्थितीलाई पर्दामा उतार्ने कोशिश गरिएको उनले बताए । बुटवल भैरहवा र काठमाडौँमा सम्पुर्ण फिल्मको छायांकन सम्पन्न गरिने मञ्जरीको प्रदर्शन आगामी दशै वा तिहारमा गरिने बताईएको छ ।