
प्राय सधैं सुनसान रहने व्यास-१० स्थित शिव पञ्चायन मन्दिरको आडैमा रहेको शान्ति बाल उद्यानमा बिहीबार भने अर्कै रौनक थियो । यस अघि पर्दामा मात्र देख्दै आएका नेपाली फिल्मका नायक नायिकालाई आफ्नै आँखा अगाडी देख्दा दमौलीका दर्शक निकै बेर मख्ख परे ।
फिल्म मेकिङमा मेसिन मेकरले चिनिएका निर्माता तथा निर्देशक सोभित बस्नेतको पछिल्लो प्रोजेक्ट 'जाउँ हिड पोखरा' को गीतको छायाङ्कनको लागि दमौलीको बाल उद्यानमा आएका नायिका रेखा थापा र नायक जीवन लुँईटेललाई देख्दा दर्शकहरु निकै बेर हेर्या हेर्यै भएका थिए । निर्देशक बस्नेतको २५ औं फिल्म 'जाउँ हिड पोखरा' को टोली एक गीतको छायाँकनका लागि दमौली आएको हो ।
दमौलीमा छायाङ्कनको प्रबन्ध भने उत्तरशीला चलचित्रका मेनेजर एवं सो फिल्मका कलाकार प्रमोद पाण्डेले मिलाएका थिए । फिल्मको सुटिङ दमौलीमा हुने भन्ने हल्ला सुनेका केही दर्शकहरु फिल्मका कलाकार भन्दा पहिल्यै छायाङ्कन स्थलमा पुगिसकेका थिए । दमौलीलाई प्राकृतिक स्टुडियो भन्दै पाण्डेले फिल्मको सुटिङ दमौलीमा हुनाले दमौलीको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
फिल्ममा रेखा थापा, जीवन लुइटेल, सम्राट सापकोटा, राम गौतम, जिके शर्मा, आरूष गुरूङको साथै दमौलीका कलाकार एवं उत्तरशीला फिल्म हलका मेनेजर प्रमोद पाण्डेको अभिनय रहेको छ । फिल्म भित्रको फिल्मको निर्माताको भूमिकामा आफूले अभिनय गरेको पाण्डेले बताए । पाण्डेले यस अघि पनि बस्नेतको विभिन्न फिल्महरुमा अभिनय गरिसकेका छन् । १ महिना अघि छायाङ्कन सुरु भएको फिल्मको हालसम्म ७० प्रतिशत काम सकिएको निर्माता निर्देशक बस्नेतले बताए ।
एक्सन, कमेडी तथा समाजिक कथामा आधारित भएको फिल्म आगामी तिहारको अवसरमा कार्तिक २८ गतेदेखि देशव्यापी रिलिज गरिने निर्देशक बस्नेतले बताए । ६० लाख लागतको यस फिल्ममा रेड फोरके क्यामेरा प्रयोग गरिएको छ जसले फिल्मलाई गुणस्तरीय बनाउने अपेक्षा बस्नेतले लिए । फिल्म एक स्टार नायिकाको जीवनका उतार चढावमा आधारित कथा छ । बाहिर हेर्दा फिल्मका नायिकाको जीवन निकै राम्रो देखिए पनि वास्तविक रुपमा नायिकाको जीवन कस्तो हुन्छ भन्ने बारेमा फिल्ममा चित्रण गरिएको नायिका रेखा थापाले बताइन् । यस्तै नायक जीवन लुइटेल फिल्म भित्रको फिल्मकी स्टार नायिकाको फ्यानको भूमिकामा रहेका छन् ।
दमौली आफ्नो लागि दोस्रो पटक भएको नायक लुईटेलले बताए । यस अघि २०५३ सालमा नेपाल रेडक्रस सोसाइटीले दमौलीमा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्दा दमौली आएको र सो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको लुईँटेलले बताए । दमौली प्राकृतिक सुन्दरतामा निकै धनी भएको हुँदा यहाँको सुन्दरता नेपाली फिल्म मार्फत उजागर हुनुपर्ने लुइटेलले बताए ।