
स्क्रिप्टमा ज्यादा अष्लिलता देखिएको भन्दै चलचित्र विकास बोर्ड अर्न्तगतको स्क्रिप्ट छनोट समितीले फिल्म `9 O`Clock` को स्क्रिप्ट खारेज गरिदिएको छ । सामाजिक मर्यादालाई ख्याल नगरी स्क्रिप्ट बनाईएको भन्दै खारेज गरिएको समिती सदस्य सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई जानकारी गराए ।
केहि दिन अगाडी टाईटल दर्ता नगरी सुटिङ गरेको भन्दै विकास बोर्डले उक्त फिल्मको सुटिङ रोकेको थियो । तर अहिले आएर स्क्रिट पनि पास नभए पछि फिल्म निर्माण युनिट तनावमा रहेको छ । समिती सदस्य दर्पणका अनुसार निर्माण युनिटले स्क्रिप्ट खारेज भएपछि नयाँ स्क्रिप्ट ल्याएको थियो तर फिल्मको नाम दर्ता नयाँ प्रक्रियाबाट गर्नु पर्ने भएपछि सो फिल्मको सुटिङ अगाडी बढ्न सकेको छैन ।
निर्माण युनिटले अब नयाँ स्क्रिप्ट दर्ता गरि फिल्म सुटिङ गर्नुपर्ने हुन्छ । `9 O`Clock` को एक साता जति सुटिङ भईसकेको थियो । अहिले आएर सुटिङ रोक्नु पर्दा निर्मातालाई ठूलो घाटा लागेको छ । शुरूमा फिल्मको नाम 'A 69' राखिएको थियो तर बोर्डले सो नाम अश्लिल भएको भन्दै परिवर्तन गर्न सल्लाह दिएपछि युनिटले '9 O'clock' राखेको हो ।
यस्तै स्क्रिप्ट छनोट समितीले भक्त मुभि मेकर्सको फिल्म 'वार' को स्क्रिप्ट पनि खारेज गरेको छ । सो फिल्मको स्क्रिप्टमा पनि अष्लिल भएको भन्दै खारेज गरिएको सदस्य दर्पणले बताए । समितीले अहिले थुप्रै स्क्रिप्टको अध्ययन गरिरहेको छ र ति मध्ये केहि फिल्मको स्क्रिप्ट खारेज हुन सक्ने बताएको छ ।