
केहि बर्ष अगाडी मोफसलमा प्रदर्शन भई राजधानी रिलिजका लागि पालो कुरेर शुक्रबार रिलिज भएको फिल्म महानको प्रिन्ट झुर भएका कारणले गर्दा दुई दिन हलमा चल्न नपाई उत्रन बाध्य भएको छ । महान उत्रे पछि त्यसको प्रत्यक्ष फाईदा प्लानलाई भएको छ ।
दिनेश शर्माको निर्माणमा बिराज भट्ट अभिनित फिल्म महान क्यू च्यानलको बिश्वज्योती हलबाट आउट भयो र त्यसको स्थानमा प्लान रिप्लेस भयो । निर्माता र वितरकको चर्को दबाब आउँदा पनि प्रिन्ट नराम्रो भएकाले आफ्नो हलबाट फिल्म उतार्न बाध्य भएको हल सञ्चालक मोहन सर्राफको भनाई छ । यस्तै महानलाई अन्य हलले पनि उतार्न खोज्दा वितरक र निर्माताले दबाब दिएपछि राजधानीका केहि हलमा महान चलिरहेको छ तर बिजनेश भने राम्रो छैन । आईतवारबाट महान अझै केहि हलबाट उतार्ने सम्भावना देखिएको छ । यदि महान उत्रेको खण्डमा प्लानले त्यसको फाईदा उठाउनेछ ।
गंगा, बिश्वज्योती, अष्टनारायण, गोपी, गुण, बाराही, कलंकी, सिद्धार्थ लगायतका करिब डेढ दर्जन हलमा प्रदर्शन भईरहेको सोभित बस्नेत निर्देशित फिल्म प्लानले निर्मातालाई निराश पारेको छैन । निर्माता कविता श्रेष्ठले फिल्म राम्रो चलेको र दर्शकको प्रतिक्रिया पनि राम्रो नै पाएको बताईन् । हिजो शुक्रबारबाट रिलिज भएको अर्को फिल्म अपवाद भन्दा प्लानको बिजनेश राम्रो भएको बताईएको छ । अपवादले मल्टिप्लेक्स हल पाए पनि दर्शकलाई सोचे अनुरूपले तान्न भने सकेन ।