प्रतिष्ठीत मल्टीप्लेक्स कम्पनी क्यूएफएक्सले चलचित्र बिकास शुल्कको नाममा गल्ती गरेको देखिएको छ । गत बैशाख १६ गते पनि फिल्मीखबरले क्यूएफएक्सले दर्शक ठगेको समाचार सार्वजनिक गरेपछि सो कम्पनीले कर्मचारीलाई दोषी ठर्याउदै जागिरबाट निस्कासन गरेको थियो तर महिना दिन वित्ना साथ क्यूएफएक्सले जय नेपाल हलमा पुन : गल्ती गरेको प्रमाण भेटिएको हो ।
सरकारी नियम अनुसार नेपाली फिल्म हेर्दा भ्याट बाहेकको कर लाग्दैन तर विदेशी फिल्ममा मात्र लाग्ने चलचित्र बिकास शुल्क नेपाली फिल्म अपवादमा पनि लिईएको प्रमाण फेला परेपछि उसको नियत माथि पुनः प्रश्न उब्जिएको हो । शुक्रबार देखि रिलिज भएको अपवादको पहिलो दिनको बिहानी शो हेर्न पुगेका दर्शक गणेश खत्रीले किनेको टिकटमा चलचित्र बिकास शुल्क लिईएको पाईएको हो । उनले काटेको १ सय १० रुपैयाको टिकटमा १५ प्रतिशत (१२.७०) पैसा विकास शुल्क लिएको देखिएको छ ।
नेपाली फिल्ममा चलचित्र बिकास शुल्क लिईएको बिषयमा अपवादका प्रोड्यूसर सुसन प्रजापतिले डिष्ट्रीब्यूटरसंग मात्र कुरा गरेर यो बिषयमा प्रतिक्रिया दिने बताए । उता डिष्ट्रीब्यूटर सुनिल मानन्धरले विकास शुल्क लिन नपाईने भन्दै यो बिषयमा सम्पूर्ण पक्ष संग छलफल गरेर अघि बढ्ने बताएका छन् । उनले भने, 'नियम नै नभएको कुरामा विकास शुल्क लिन पाईदैन किन लियो बुझ्नेछौ ।'
यसैगरी फिल्म क्षेत्रको सर्वश्रेष्ठ निकाय चलचित्र बिकास बोर्डले यो बिषयमा आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । बोर्ड प्रवक्ता विकास आचार्यले प्रतिष्ठीत कम्पनीले पटक- पटक गल्ती भयो भन्नु जायज नभएको भन्दै भोलीबाट यो बिषय माथिको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।
उता चलचित्र निर्माता संघले पनि क्यूएफएक्सको यो हर्कत पूर्ण गलत भएको भन्दै जघन्य अपराधको संज्ञा दिएको छ । फिल्मीखबरसंग कुरा गर्दै संघ अध्यक्ष राजकुमार राईले भने, 'करको बिषयमा यस प्रकृतिको कार्य सरकारलाई नै च्यालेन्ज दिने खालको हो तसर्थ यो बिषयमा सम्पूर्ण पक्षसंग छलफल गरी हाम्रो आधिकारिक धारणा आउने छ ।'
उता क्यूएफएक्स अध्यक्ष नकिम उद्दीनले कम्प्यूटर सिस्टममा तलमाथि भएको हुदा यस्तो गल्ती भएको बताए । उनले भने, 'यस्तो गल्ती यस अघि पनि हुने गरेको थियो फेरी भएछ ।' उनका अनुसार हिन्दी र नेपाली फिल्मको टिकट तयार गर्ने बिषयमा अपरेटरले सिस्टम चलाउन नजान्दा त्यस्तो भएको हो । जुन भनाईले क्यूएफएक्समा दक्ष कर्मचारीको अभाव पनि रहेको प्रष्टीन्छ ।
यसैगरी आफ्नो सदस्य संस्थाको गल्ती कार्यलाई चलचित्र संघले ढाक्ने प्रयास गरेको छ । महासचिव प्रदीप उदयले यो सानो मिस्टेक भएको भनी तर्क अघि सारेका छन् । यसैगरी डिसिएन प्रवन्ध निर्देशक अशोक शर्मा जो नकिम उद्दीनका निकटस्त मित्र हुन् उनले पनि मल्टीप्लेक्स हलमा यस किसिको प्राविधिक मिस्टेक कहिलेकाही हुने बताए । अशोकका अनुसार नेपाली फिल्मको हकमा विकास शुल्क लिए पनि नलिए पनि टिकट दर एउटै हुने हुदा निर्माताले ग्रसमा शेयर बुझ्ने बेलामा हलले विकास शुल्क काटेको पाईएको खण्डमा मात्र दोषी हुने बताए ।
हल वालासंग जोडिएर यस किसिमका विवाद बर्षौदेखि चलि आएको रिति नै हो भन्दा फरक पर्दैन तर क्यूएफएक्स जस्तो प्रतीष्ठीत कम्पनीले बारम्बार गल्ती भयो भन्दै विवादबाट पन्छिन खोज्नुलाई भिन्न कोणले हेरीएको छ ।