
सामाजिक कथामा बनेको फिल्म 'तुलसी' को प्रोमो एक्सक्लुसिभ रूपमा फिल्मीखबरबाट रिलिज गरिएको छ । यसअघि रिलिज गरिएको फस्टलुकको प्रतिक्रिया लिएर निर्देशक शंकर घिमिरेले दर्शक तान्ने प्रोमो बनाएको बताए ।
आउँदो जुन ३० तारिखका दिन अमेरिकाको टेक्सासमा हुन गईरहेको भव्य समारोह 'एएनए कन्भेन्सन' मा फिल्म तुलसीलाई प्रिमियर गरिने भएको छ । यसअघि नै अमेरिकामा रिलिज गर्ने बताईएको तुलसी प्राबिधिक कारणले रिलिज हुन नसकेपनि निर्देशक घिमिरेले सयौं मानिसहरूको भिड रहने एएनए कन्भेन्सनमा प्रिमियर गर्न पाउँदा खुसी लागेको बताए । फिल्मलाई 'प्लानेट ३ फिल्मस' र 'ड्रिम २७' ले प्रिमियरको आयोजना गरेका हुन् ।
नेपाली समुदाय लक्षित गरि निर्माण गरिएको फिल्म तुलसीले जातिय छुवाछुतको कथालाई उठान गरेको छ । ऋचा घिमिरेको प्रस्तुतीमा निर्देशक घिमिरेकै निर्माण रहेको उक्त फिल्ममा ऋचा घिमिरे, बिम्लेश अधिकारी, आयुष रिजाल, जयकिशन बस्नेत, बिष्णु सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा पहिलो पटक पुराना पुस्ताका ६ मुख्य कलाकार राजेश हमाल, करिष्मा मानन्धर, शिब श्रेष्ठ, भुवन केसी, मौसमी मल्ल र तृप्ती नाडखरलाई बिशेष भुमिकामा देख्न सकिने छ ।
शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा रञ्जित गजमेरको संगीत तथा दीपक बज्राचार्यको छायाँकन रहेको छ । फिल्मको अधिकांश भाग कास्कीको रमणिय गाउँ धम्पुसमा गरिएको हो । फिल्मलाई अमेरिकाको अन्य शहर सहित बिश्वका थुप्रै मुलुकमा रिलिज गरिनेछ । रिलिज स्थान र मिती केहि दिनमा सार्वजनिक गरिने निर्देशक घिमिरेले बताए ।