
सार्वजनिक गरिएको पब्लिसिटी पोष्टरबाट आफ्नो चरित्र हत्या भएको भन्दै हिरोईन शुष्मा कार्कीले फिल्म विन्दासको नाम समेत नलिने भएकी छिन् । हेर्दा ज्यादा भल्गर देखिने प्रकृतिको विन्दासको पब्लिसिटी पोष्टरलाई बिहिबार फिल्मीखबरले प्रश्न सहित समाचारको रुपमा सार्वजनिक गरेपछी शुष्माले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशक विरुद्ध कारबाहीको प्रक्रिया पनि अघि बढाउने बताएकी छिन् ।
शुष्माले भनिन्, 'फोटो सुट गरिएको हो तर कम्प्यूटरबाट फोटो भल्गर बनाउदै पब्लिश गरिएकाले मेरो आपत्ती छ ।' यस्तै सुष्माले आफ्नो चरित्र हत्या गर्ने निर्देशक राजु गिरीसँग आउदा दिनमा सँगै काम समेत नगर्ने बताएकी छिन् । उनले भनिन्, 'यसरी अर्काको जिवननै बर्वाद हुनेगरी काम गर्नेको के विश्वास गर्नु ? त्यसैले अब म यो फिल्मको डबिङ पनि गर्दिन र उहाँसंग आउदो दिनमा कुनै पनि काम गर्ने छैन ।'
उता निर्देशक गिरीले फिल्म भल्गर नभएको र सुष्माको चरित्र हत्या नगरिएको बताए । उनले भने, 'त्यो फोटो जस्तो खिचिएको हो त्यस्तै राखिएको छ त्यसैले सुष्माजीले यो बिषयमा आपत्ती जनाउनु हुन्छ र डबिङ गर्नुहुन्न भने एग्रीमेन्ट अनुरुप कलाकार संघ मार्फत कानुनी प्रक्रियामा अघि बढ्ने छौ ।' गिरीले फिल्म भित्र केही दृश्य उत्तेजक शैलीमा खिचिए पनि सालिन शैलीको ग्ल्यामर दृश्य मात्रै फिल्ममा राखिने बताए । उनले भने, 'दर्शकले जति पचाउछ त्यो बाहेक अरु राखिने छैन र खिचिएको पनि छैन । मलाई विन्दास मात्रै चलाउनु छैन किन कि मेरा अरु पनि फिल्म लाईनमा छन् तसर्थ म के भन्छु भने शुष्माजीले अरु कसैको भड्काउमा लागेर यस्तो भन्नु भएको हो ।'
यध्यपी गिरीले शुक्रबार बिहान ९ बजे सुष्मासंग यो विवादित बिषयमा छलफल गरेर अघि बढ्ने बताएका छन् । तर सो मिटिङमा सुष्मा जान्छिन् वा जादिनन् त्यो भने फाईनल भईसकेको छैन ।