मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्लानको पब्लिसिटीका लागि मुकेशले छोडे लफडा

फिल्मीखबर, काठमाण्डौ, 2012/06/14

भोली शुक्रबारबाट राजधानीका हलमा प्रदर्शन हुन लागेको फिल्म 'प्लान' को पब्लिसिटीका लागि नायक मुकेश ढकालले लफडाको सुटिङ छोडेका छन् । गत सोमबारबाट चितवनमा छायाँकन भईरहेको किशोर चौधरी निर्देशित फिल्म लफडाबाट दुई दिनको बिदा मागेर मुकेश प्लानका लागि बुधबार काठमाण्डौ आएका हुन् ।

 

निर्माता कविता श्रेष्ठले मुकेश बिना पब्लिसिटी नहुने भन्दै उनलाई दुई दिनका लागि भए पनि बिदा मिलाएर काठमाण्डौ आउन आग्रह गरेकी हुन् । मुकेशले पनि आफू लिड रोलमा रहेको फिल्म भएकाले बिदा मागेर पब्लिसिटी गर्न आएको बताए । आज दिनभर फिल्मको पब्लिसिटीका लागि सञ्चारमाध्यम धाउने र भोली हलहरूमा पुग्ने उनको योजना छ । मुकेशलाई पब्लिसिटीमा नवनायक ध्रुब न्यौपाने पनि फिल्मको पब्लिसिटीमा सघाउनेछन् ।

 

यसै फिल्मबाट डेब्यू गरेकी नायिका रगिनी खड्गी भने पब्लिसिटीमा सहयोग गर्न नसक्ने भएकी छिन् । उनी लफडाको सुटिङमा रहेकाले काठमाण्डौ आउन नसक्ने उनीसँगै काम गरेका नायक ढकालले बताए । फिल्मका निर्देशक सोभित बस्नेत आफ्नै होमप्रोडक्सनको फिल्म जाउँ हिड पोखराको सुटिङमा व्यस्त भएकाले उनले भने पब्लिसिटीमा सहयोग गर्न नसक्ने भएका छन् । निर्देशक नै नभए पछि अहिले निर्माता श्रेष्ठ आफैले निर्देशकको अभिभारा बोक्दै सञ्चारमाध्यम धाएकी छिन् ।

 

सोभित सम्पर्कमा समेत आउन नचाहेको गुनासो पोख्दै कविताले भनिन्, 'फोन नै नलाग्ने बनाएर बस्नु भएको छ त्यसैले अहिले म नै निर्देशक बन्नु परेको छ ।' यता फिल्मको डिस्ट्रिव्युसन पनि आफै गरेको कविता बताउँछिन् । यस्तै फिल्मका दुई नायिका अनिता दाहाल र अनुष्का ढकाल पनि पब्लिसिटीमा आउने छैनन् । कविता भन्छिन्, 'उनीहरूले त शुरू देखि नै फिल्मको पब्लिसिटी गर्न चाहेका छैनन् ।'

 

भोलीबाट राजधानीका एक दर्जन भन्दा बढि हलमा फिल्म लाग्ने बताउँदै निर्माता श्रेष्ठले असार ८ गतेबाट मोफसलका हलमा लाग्ने जानकारी गराईन् । फिल्म डिजेहरूको कथामा आधारित रहेको बताईएको छ ।

 

यस्तै भोलीबाट सुवास कोईराला निर्देशित फिल्म अपवाद पनि लाग्दैछ । राजबल्लभ कोईराला र निशा अधिकारी अभिनित फिल्म राजधानीमा मुख्य मल्टिप्लेक्स सहित देशभरका हलमा लाग्नेछ । अर्न्तराष्ट्रिय बजारमा रिलिज भएको र भईरहेको सो फिल्मले राम्रो प्रतिक्रिया पाईरहेको छ । फिल्मलाई सुसन प्रजापतीले निर्माण गरेका हुन् । भोली शुक्रबार क्यू सिस्टमबाट महान फिल्म पनि लाग्नेछ । मोफसलमा रिलिज भईसकेको यो फिल्म भने राजधानीमा अपवाद र प्लानसँग भिड्नेछ ।