
नेपाली फिल्मले बिस्तारै बिश्व बजारमा आफ्नो स्थान लिन थालेको छ । केहि बर्ष अगाडी एकाध फिल्म नेपाल बाहिरका मुलुकमा रिलिज हुन्थे तर अहिले हरेक साता जस्तो फिल्म रिलिज हुन थालेका छन् ।
अझ नेपालमा भन्दा पहिला बिदेशमा नेपाली फिल्म रिलिज हुन थालेका छन् भने केहि फिल्म नेपाल र बिदेशमा एकसाथ रिलिज हुन थालेका छन् । यहि क्रममा श्रावण १२ गते देखि नेपालभर एकसाथ रिलिज हुन लागेको फिल्म 'संसार आफ्नै' सोही मितीमा बिश्वका केहि मुलुकमा रिलिज हुने बताईएको छ । फिल्मका निर्माता गोबिन्द शाहीले दिएको जानकारी अनुसार श्रावण १२ गते हङकङ, मलेसिया, कतार, दुबई र जापानमा फिल्म एकसाथ रिलिजको तयारी गरेको बताए ।
दुबईमा रहेका नेपाली मनोज गुरूङको पहलमा उक्त मुलुकमा रिलिजको तयारी गरेको निर्माता शाहीको भनाई थियो । उनी भन्छन्, 'सम्भव भएसम्म्म सोही मितीमा लगाउँछौ नभए एकसाता तलमाथी हुनसक्छ ।' ग्रामीण र सहरी दुवै परिवेश कथालाई बुनेर निर्माण गरिएको प्रेमकथानक सो फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका हुन् । फिल्ममा झरना थापा, सुमन सिंह र गोबिन्द शाहीको मुख्य भुमिका रहेको छ ।
युवराज राईको छायांकन, बसन्त सापकोटा, तारा प्रकाश लिम्बु र चेतनसूर्यको संगीत, योगेश रायमाझीको कथा, कविराज गहतराज र गोबिन्द राईको नृत्य तथा अष्ट महर्जनको द्वन्द रहेको सो फिल्ममा केहि संवेदनशिल दृश्य रहेकाले सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ जसकारण १६ बर्ष मुनिका बालबालिकाले अभिभावक बिना फिल्म हेर्न पाउने छैनन् ।