श्रावण १२ गतेबाट नेपालभर एकसाथ प्रदर्शनमा ल्याउने तयारीका साथ फिल्म 'ॐ' को पोष्टप्रोडक्सनको कामलाई तिब्रता दिईएको छ । यहि क्रममा आज सोमबारबाट फिल्मको डबिङ शुरू गरिएको निर्माता करण क्रेजीले फिल्मीखबरलाई जानकारी गराए ।
भगवान शिवको प्रतिक मानिने 'ॐ' नाममा फिल्म बनेकाले उनै भगवानको बार सोमबारका दिन शुभसाईत निकालेर डबिङ शुरू गरिएको निर्माता क्रेजी बताउँछन् । कलाकार दिक्षा कुवँरले फिल्मको पहिलो डबिङ गरिन् । रामजी लामिछानेले निर्देशन गरेको फिल्मलाई केआर इन्टरटेन्मेन्टको व्यानरमा राजेश खड्गी र भुपाल खत्रीले पनि लगानी गरेका छन् । फिल्मको कथा कमल दाहालले लेखेका हुन् भने संगीत दिनेश सुनामको साथमा बसन्त सापकोटाको पनि रहेको छ ।
रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहेको सो फिल्मलाई दुर्गा पौडेलले खिचेका हुन् । करियोग्राफी भने रामजी लामिछाने, मोहन प्रधान र सुमन लामाको रहेको छ । हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्म 'ॐ' मा सुमन सिंह, झरना थापा, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले पनि अभिनय गरेका छन् ।

