
गत फाल्गुन ५ गते नेपालमा प्रदर्शन भएको फिल्म 'मिस यू' को मलेसियामा भव्य प्रदर्शन भयो । आज आईतवार क्वालालम्पुर नजिकै रहेको रावाङको पागावन फिल्म हलमा फिल्मको दुई शो गरिएको हो ।
रावाङ व्यावसायी संघले आयोजना गरेको सो फिल्म हेर्न दर्शक हलमा भरिपूर्ण थिए । फिल्मको सुटिङ मलेसियामा नै गरिएको हुनाले पनि दर्शकले फिल्म हेर्न रूचि देखाएको हुनसक्ने आयोजकको भनाई छ । फिल्म हेरिसके पछि दर्शकले राम्रो प्रतिक्रिया दिए । फिल्म हेर्न टाढा-टाढाबाट नेपाली श्रमिकहरु भेला भएका थिए । ढिलै भए पनि मिस यू हेर्न पाएकोमा मलेसियामा रहेका नेपालीले खुसी व्यक्त गरे ।
सुरेश दर्पण पोखरेलको निर्देशनमा अभिनेता दिलिप रायमाझीले निर्माण गरेको सो फिल्ममा दिलिपको साथमा नम्रता श्रेष्ठ र बरूण राणाको अभिनय हेर्न सकिनेछ । फिल्मका अर्का निर्माता उपेन्द्र कार्कीले दर्शकले फिल्म हेर्न रूचि देखाएकाले अर्को शो पनि राखिने बताए ।