
कारगिलको युद्धमा लडेका वीर लाहुरेको कथामा आधारित भएर निर्माण भइरहेको फिल्म निशानी टोली बाँकी छायाँकनको लागि पुर्व आएको छ । लमजुङको घले गाउँमा झन्डै साठ्ठी प्रतिशत छायाँकन सकेर फिल्मको छायाँकन टोली पुर्व आएको हो ।
पुर्व आउन साथ फिल्मको यति बेला इलामको फिक्कलमा छायाँकन भइरहेको छ । फिल्मका मुख्य नायकको रुपमा रहेका इन्डियन आइडल एवम् गायक प्रशान्त तामाङ पश्चिम घुमेर आएपछि पुर्वका आफ्ना साथीलाई घुम्दाको अनुभव सुनाइरहेको दृश्यको छायाँकन फिक्कलमा भइरहेको छ । प्रशान्तले अभिनय गरिरहेको यो चौंथो फिल्म हो । गोर्खा पल्टनको सफल छविलाई निसानीले निरन्तरता दिने उनको विश्वास रहेको छ ।
उता नायिकाको रुपमा नेपाल स्टार हुन सफल गायिका बिष्णु चेम्जोङले अभिनय गरेकी छिन् । गायन पृष्ठभूमिका दुवैले फिल्ममा राम्रो काम गरेको निर्देशक बिनोद सेरेङ बताउँछन् । प्रशान्त र बिष्णुको अलावा फिल्ममा प्रेम सुब्बा, अनु गुरुङ, जयनन्द लामा, सिरु विष्ट, किशोर सम्वाहाम्फे र स्थानीय कलाकारहरुको समेत अभिनय हेर्न पाईनेछ । फिक्कल पछि फिल्मको छायाँकन पाँचथर र सिक्किममा समेत हुने बताइएको छ । कलाकार प्रेम सब्बाकै लगानीमा निर्माण भइरहेको फिल्ममा बि.बि. अनुरागीको संगीत रहेको छ ।